काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै पछिल्लो समय विभिन्न वायुसेवा कम्पनीहरुले चर्काे भाडादर लिएको गुनासो बढ्न थालेको छ ।
यात्रुको गुनासोसँगै निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ‘वाइ’ क्लासको हवाई टिकट बिक्रीवितरण बन्द गरिएको जनाएको हो ।
‘वाइ क्लास भाडा नर्मल इकोनमि क्लासकोे उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन हिमालय एअरलाइन्स्ले २१ नोभेम्बर २०२४ देखि सो उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ । यसैगरि, यात्रुहरूले आफूसँग अत्याधिक भाडादर लिइएको भन्ने भएमा हिमालय एअरलाइन्स्लाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यस्तै, हिमालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा १० नोभेम्बर २०२४ देखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ग्रुप टीबीए बुकिङ निलम्बन गरेको सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गर्दै आएको प्रष्ट पारेको छ ।
कम्पनीले टिकटमा कालोबजारी रोक्न सबै ट्राभल एजेन्टहरूलाइ हप्तामा कम्तीमा दुई पटक ईमेल पठाउँदै कालोबजारी गरिएको भेटिएमा नेपालको सम्बन्धित कानुन अनुसार कारबाही गर्ने समेत चेतावनी दिदैँ आएको जनाएको छ ।

