काठमाडौँ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले सप्तरीको छिन्नमस्ता गाउँपालिकाका महिला किसानलाई सहयोग गरेको छ ।
पालिकाको नेतृृत्वको पहलमा एफएओको सहकार्यमा बिहीबार पालिकाभित्र रहेका महिला उद्यमीलाई लक्षित गर्दै गहँु र दालको विउँ वितरण गरिएको हो ।
एफएओको सहयोगमा पालिकामा रहेका २६ समूहमा आवद्ध ६७९ महिलालाई दालको उन्नत बीउ र १५ समूहका ३ सय ७६ महिलालाई गहुँको बीउ वितरण गरिएको पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
उनका अनुसार प्रतिमहिला २ केजी दाल र साढे १२ किलो करिब ४ कठ्ठालाई पुग्नेगरी गहुँको विउ वितरण गरिएको हो ।
उक्त विउविजन वितरणले पालिकाका महिलाहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्ने अपेक्षा रहेको उनले बताए ।
‘ग्रामीण महिलाहरूलाई कृषि विकासको माध्यमबाट सशक्त बनाउँदै समग्र समुदायको प्रगति सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू प्रेरणादायी छन्, यस गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सकारात्मक पहललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछ, अध्यक्ष चौधरीले भने ।

