काठमाडौँ । टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपिटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज शरणम’ले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टरमा सीताराम कट्टेल ‘धुर्मुस’ सहित विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, कमलमणी नेपाल, अर्पण थापालाई चित्रण गरिएको छ । कट्टेल नेता शैलीमा अभिवादन गरेको लुक्समा छन् ।
फिल्ममा धुर्मुस शीर्षमध्येको एक भूमिकामा छन् । पोस्टरमा अन्य कलाकारको समेत चरित्र चित्रण गरिएको छ । पोस्टरमा कथाको परिवेश स्थापना हुने गरि अन्य दृश्य पनि समेटिएका छन् ।
फिल्मको टिजर आगामी एकसाताभित्र ल्याउने तयारी छ । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), विजय लामा, रेणुनाथ योगी, माला लिम्बु लगायतले अभिनय गरेका छन् ।
फिल्मलाई डोल्पामा छायांकन गरिएको हो । नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सृजना खड्का सहनिर्माताको रूपमा छन् । फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । यो फिल्म शिवरात्रीको अवसरमा फागुन १४ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुने तयारीमा छ । अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ ।

