काठमाडौं । नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को अडिसन धमाकेदार रूपमा सुरु भएको छ। शनिबारदेखि होटल मण्डला नर्लिङमा सुरु भएको फिजिकल अडिसनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मिस ग्लोब २०२४ डायना मोरेनो प्रमुख निर्णायकको रूपमा देखिइन्।
नेपालको भ्रमणमा रहेकी डायनाले नेपाली प्रतिभाहरूसँगको अन्तरक्रियामा उत्साह व्यक्त गरिन्। “नेपालको सौन्दर्य र यहाँको युवा प्रतिभाले मलाई निकै प्रभावित बनाएको छ,” उनले भनिन्।
डायनासँगै निर्णायक मण्डलमा फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्वमिस ग्लोब नेपाल रोशनी चन्द्र र पूर्व मिस्टर इन्टरनेसनल मानस राई रहेका छन्। विभिन्न क्षेत्रमा ख्याति कमाएका यी जजहरूले प्रतियोगिहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको मूल्याङ्कन गर्नेछन्।
प्रतियोगिताको अडिसन सातै प्रदेशमा आयोजना हुनेछ। फेब्रुअरी २४ देखि झापा, इटहरी, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा अडिसन हुने आयोजकले जानकारी दिएको छ। थप तालिका चाँडै सार्वजनिक गरिनेछ। प्रतियोगितामा १८ देखि ३२ वर्ष उमेर समूहका महिला र १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषले अडिसन दिन पाउनेछन्। राष्ट्रिय निर्देशक सन्तोष उपाध्यायका अनुसार चौथो संस्करणबाटै अन्तर्राष्ट्रिय विजेतालाई निर्णायक बनाउने परम्पराको थालनी गरिएको छ।
सनुर्वी इन्टरनेसनलले नेपालमा आयोजना गर्ने सौन्दर्य प्रतियोगितामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरका विजेताहरूलाई ग्रान्ड फिनालेमा जजको रूपमा ल्याउने पहल गरेको हो। आयोजकका अनुसार यसले नेपाली प्रतियोगिहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसरको ढोका खोल्नेछ।
मिस ग्लोब डायनाले नेपाल भ्रमणको क्रममा वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभ्रेपालाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे आयोजना गर्ने घोषणा गरिन्। यस फेसन शोको मुख्य उद्देश्य जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउनु हो।
डायनाले नेपालप्रति आफ्नो माया प्रकट गर्दै भनिन्, “यहाँको संस्कृति र आतिथ्यले मलाई मोहित बनाएको छ, म नेपालमा अझ धेरै समय बिताउन चाहन्छु।”

