काठमाडौं । दाङमा आयोजित तुलसीपुर महोत्सव अचानक रोकिएपछि कलाकार दुर्गेश थापाले गायक ज्योति मगरमाथि आफ्नो प्रस्तुति रोकेको आरोप लगाएका छन्। फागुन १ देखि सञ्चालनमा आएको महोत्सव फागुन १६ गतेनै बन्द भएपछि दुर्गेशले १८ गतेको आफ्नो प्रस्तुति गुमाउनुपरेको बताउँदै ज्योति मगरको संलग्नता रहेको संकेत गरेका हुन्।
दुर्गेशको आरोपलाई बल पुर्याउने गरी ज्योति मगरले सामाजिक सञ्जालमा व्यंग्य गर्दै दुर्गेशको ‘हेलिकप्टर उड्यो कि उडेना?’ भनेर टिप्पणी गरेकी थिइन्।
उनले दुर्गेशलाई लक्षित गर्दै ‘दुस्मन पर्खेको पर्ख्यै थियो’ भन्ने व्यंग्य समेत गरेपछि विवाद चुलिएको छ।
दुर्गेशले आफ्नो फेसबुक पोस्टमा ‘मेरो भगवानरूपी दर्शकहरू निराश भएर फर्किएको देख्दा मन रोयो। केही कलाकारहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्’ भनेर ज्योतिमाथि अप्रत्यक्ष आरोप लगाएका छन्।
तर, आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्माले भने प्रशासनिक कारणले महोत्सव रोकिएको दाबी गरेका छन्। उनका अनुसार, स्थानीय प्रशासनले फागुन १ देखि १६ सम्म मात्र अनुमति दिएको थियो, जसका कारण थप कार्यक्रम सञ्चालन गर्न नपाइएको हो।
तर, दुर्गेश थापाले महोत्सव रोकिएको कारण नियोजित षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन्।
ज्योति मगर र दुर्गेश थापाबीचको यो विवादले नेपाली संगीत क्षेत्रमा नयाँ चर्चा सुरु गरिदिएको छ।

