काठमाडौं । शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली फिल्म ‘होस्टेल ३’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। नेपालका प्रमुख मल्टिप्लेक्स हलहरूले यस चलचित्रलाई उत्साहजनक शो दिएका छन्। क्युएफएक्स सिनेमाजले करिब ८० शो दिएको छ भने आईएनआई सिनेमाज, बिग मुभिज, एफक्युब सिनेमाजलगायत अन्य हलहरूले पनि राम्रै सङ्ख्यामा शो उपलब्ध गराएका छन्।
चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै दर्शकमाझ ठूलो चर्चा पाइरहेको छ। ट्रेलर युट्युबमा छोटो समयमा नै ट्रेन्डिङमा आएको थियो र हालसम्म २१ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। नेपालमा मात्र होइन, भारत, बेलायत, जापान, कोरिया तथा मध्यपूर्वका विभिन्न देशहरूमा पनि यसले ट्रेन्डिङमा स्थान बनाएको छ।
सशान कँडेल निर्देशित यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। अघिल्ला दुई भाग बक्स अफिसमा सफल भएकाले ‘होस्टेल ३’ ले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

