२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर...

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

सोमवार, चैत्र ४ २०८१०१:१८
सोमवार, चैत्र ४ २०८१०१:१८
  • images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् ।

    कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् ।

    ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ’, उनले भने । 

    उनी कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित छन् । गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा दुई करोड सात लाख रुपैयाँको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

    ‘प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ’, वितरक श्रेष्ठले भने ।

    उनले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए । कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उहाँको सङ्घर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए ।

    ‘कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो । यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ’, निर्देशक चाम्सले भने ।

    चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय रहेको छ । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend