२०८३, आश्विन २० गते

images
  • विशेष
  • १८ औँ गभर्नर बन्न रस्साकस्सीः बैंकबाट...

१८ औँ गभर्नर बन्न रस्साकस्सीः बैंकबाट राजीनामा दिएर शक्तिकेन्द्र धाउँदै ढुंगाना

१८ औँ गभर्नर बन्न रस्साकस्सीः बैंकबाट राजीनामा दिएर शक्तिकेन्द्र धाउँदै ढुंगाना

बिहिवार, चैत्र ७ २०८१११:१७
बिहिवार, चैत्र ७ २०८१११:१७
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि शक्ति केन्द्र धाउने क्रम सुरु भएको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारी बिदामा बसेसँगै शक्ति केन्द्र धाउनेहरुको संख्या बढ्न थालेको हो । 

    उनी बिदामा बसेसँगै १८ औँ गभर्नर बन्न बैंकको २ डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटी गभर्नरहरु, राष्ट्र बैंककै हाल आसिन र अवकाशप्राप्त कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु देखा परेका छन् । 

    बैंकमा बिदामा बसेर शक्ति केन्द्रमा ढु‌गाना

    गभर्नरका दर्जन आकांक्षी मध्येका एक हुन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना । डेढ वर्षअघि सीईओ बनेर नबिल बैंक भित्रिएका उनले त्यसपछि गभर्नर बन्न लबिङ सुरु गरेका थिए । 

    उनी अहिले बैंकमा बिदा बसेर गभर्नर बन्नका लागि आवश्यक तयारी गरिरहेका छन् । 

    ढुंगानामात्रै होइन यसरी सक्रियता देखाउनेमा धेरै छन् । बुढानिलकण्ठस्थित शेरबहादुर देउवा निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार र भैसीपाटीस्थित अर्थमन्त्री विष्णुु पौडेलको घरमा समेत आकांक्षीहरु पुग्ने गरेका छन् ।

    यी हुन् आकांक्षी

    गभर्नरको प्रमुख दाबेदारहरुमा नेपाल राष्ट्र बैंकका २ डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटी गभर्नरहरु, राष्ट्र बैंककै हाल आसिन र अवकाशप्राप्त कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु देखा परेका छन् । 

    नेपाल राष्ट्र बैंकको आगामी गभर्नरका लागि प्रमुख दाबेदार हालका डेपुटी गभर्नरद्वय रहेका छन् । हाल राष्ट्र बैंककमा बमबहादुर मिश्र र नीलम ढुंगाना तिम्सिना डेपुटी गभर्नर रहेका छन् । गभर्नर अधिकारी निलम्बन परेको बेला ढुंगानाले कार्यकारी सम्हालेको अनुभव समेत रहेको छ । 

    राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी हाल जो केन्द्रीय बैंकका सञ्चालक समेत रहेका छन् उनलाई पनि गभर्नरको दाबेदारको रुपमा हेरिएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल हाल उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजकसमेत रहेका छन् उनलाई पनि गभर्नरको दाबेदारका रुपमा लिइएको छ । पछिल्लो समयमा कांग्रेस एमालेको गठबन्धन सरकार रहेको र दुवै दलले पत्याएका व्यक्तिमा रामेश्वर खनाल रहेको उनको सम्भावना उच्च रहेको छ ।  

    यस्तै, पूर्वअर्थसचिव डा. राजन खनाल, पूर्वसचिव केशव भट्टराईलाई पनि गभर्नरको दाबेदारको रुपमा हेरिएको छ । पूर्वबैंकर राजनसिंह भण्डारी, पूर्वराजस्व सचिव लालशंकर घिमिरेको नाम पनि चर्चामा रहेको छ । यसैगरी, गभर्नरको आकांक्षीका रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र डा. गुणाकर भट्ट पनि रहेका छन् ।

    यसैगरी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, प्रभु बैंकका सीइओ अशोक शेरचन, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीइओ किरणकुमार श्रेष्ठ तथा लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि गभर्नरको आकांक्षीका रुपमा रहेको चर्चा हुन थालेको छ ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीलगायत पनि चर्चामा छन् । यीबाहेक गभर्नर पदका आकांक्षीमा राष्ट्र बैंककै क्याडर तथा हाल सञ्चालक सदस्य रविन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष विश्व पौडेलको संभावना रहेको छ । राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रमण नेपाल तथा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री पनि सम्भावित उम्मेदवार मानिएका छन् ।

    यस्तो छ गभर्नर हुन चाहिने योग्यता

    राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

    त्यस्तै, राजनैतिक दलको सदस्य वा पदाधिकारी, वाणिज्य बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति, वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वाणिज्य बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत वा सो भन्दा बढी शेयर वा मतदानको अधिकार भएको व्यक्ति, ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, बहुलाएको व्यक्ति वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति गभर्नर लागि अयोग्य हुने उल्लेख छ । 

    नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो । जसले मुलुकको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने, नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्ने गर्दछ । पैसामा समेत हस्ताक्षर गर्न पाइने हुँदा गभर्नर बन्न योग्यहरु धेरै लालायित हुने गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend