काठमाडौं । गत शुक्रवार चैत २२ गतेदेखि देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आएको नेपाली फिल्म ‘वसन्त’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्मको माउथ पब्लिसिटी उल्लेखनीय रूपमा राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले जनाएका छन्।
फिल्मको प्रदर्शनपछि दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपूतले दर्शकहरू कथासँग गहिरो रूपमा जोडिएको महसुस भएको बताए। उनले भने, “विषयवस्तु र प्रस्तुति दर्शकले मन पराइरहनु भएको छ। सिनेमा दर्शकसँग कनेक्ट भइरहेकाले माउथ पब्लिसिटी उत्कृष्ट भइरहेको छ।”
फिल्म राजनीतिक विषयमाथि आधारित भएको आशंका गरिएको भए पनि, दर्शकहरूले त्यसलाई अस्वीकृत गरेका छन्। एक दर्शकले भने, “फिल्मले कुनै पार्टीको पक्ष लिएजस्तो लाग्थ्यो तर हेरेपछि बुझियो , यो सामाजिक कथा हो, राजनीतिक होइन। शंका गर्नुपर्ने ठाउँ छैन। ढुक्क भएर हेर्न सकिन्छ।”
‘वसन्त’ ले नेपाली समाजको यथार्थ चित्रण गरेको भन्दै दर्शकहरूले फिल्मलाई चेतनामूलक र सन्देशमूलक भनेका छन्। अर्को दर्शक भन्छन्, “स्टाटिङ र इन्डिङ दुवै उत्कृष्ट छ। सोचेजस्तो होइन, अझ राम्रो छ। अभिनय र निर्देशनले मन छोयो।”
फिल्म विपन्न विश्वकर्मा समुदायका युवकको लेखक बन्ने सपना र संघर्षको कथा हो। यसले गाउँ समाजमा घट्ने विभेद, पीडा, संघर्ष र आशाका कथाहरूलाई उजागर गर्छ। निर्देशक सपूत भन्छन्, “मैले क्रान्ति र आन्दोलन होइन, समाजको यथार्थ देखाउन खोजेको हुँ। यस्तै सन्देश दर्शकमा कनेक्ट भइरहेको छ।” फिल्ममा हास्य र भावुक दुवै पक्ष समेटिएको उनले बताए, “जसरी समाजमा सुख–दुःख हुन्छ, त्यसैगरी फिल्मले पनि हँसाउने र रुवाउने दुवै कथा बोकेको छ।”
दर्शकहरूले फिल्म सबै नेपालीले हेर्नुपर्ने बताए। “यो नेपाली समाजको वास्तविक कथा हो। गाउँको आवाज उठाएको छ। यस्ता फिल्म चल्नुपर्छ,” एक दर्शकको भनाइ छ।

