काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म छायांकन स्टुडियो ‘सिनेपाः’ को निर्माण सुरु भएको औपचारिक घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा स्टुडियोको शिलान्यास गरिएको हो।
प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै स्टुडियो निर्माणलाई नेपाली सिने क्षेत्रको युगान्तकारी मोडको रूपमा व्याख्या गरे। 'आजको दिन सिने क्षेत्रको युग परिवर्तनको दिन हो,' प्रधानमन्त्रीले भने। सरकारले स्टुडियो निर्माणमा पूर्ण सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।
स्टुडियो बनेपा नगरपालिका–१० र १३ मा पर्ने ४१ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा बन्न लागेको स्टुडियोमा डबिङ र गायन सुविधासमेत रहनेछ। निर्माण लागत करिब ३९ करोड रुपैयाँ रहनेछ भने सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सूचना तथा संचार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लामो समयपछि नेपाली फिल्म क्षेत्रले सुविधा सम्पन्न पूर्वाधार पाउने भएकोमा खुसी व्यक्त गरे। उनले चलचित्रसम्बन्धी ऐन तथा विधेयकलाई सुधार गर्दै संसदमा पूर्याउने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।
कार्यक्रममा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले स्टुडियोका लागि आफूले जग्गा प्रदान गरेको बताए भने वरिष्ठ निर्देशक नीर शाहले स्टुडियोमा कृत्रिम बुद्धिमत्ता (AI) तथा अन्य प्रविधि समावेश गरेर बहुउद्देश्यीय बनाउने सुझाव दिए। चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले छिट्टै रियल टाइम बक्स अफिस प्रणाली सुरु हुने जानकारी दिँदै सकारात्मक सोच राखेमा असम्भव जस्तो देखिने कुरा पनि सम्भव हुने धारणा राखे।

