काठमाडौं । धितोपत्र बजारको सुदृढीकरण र विस्तारका लागि नयाँ स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना सँगसँगै अघि बढाउनुपर्ने निष्कर्ष चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले दिएको छ।
समितिको प्रतिवेदनले विगतमा भएका विभिन्न अध्ययन, सन्दर्भ र नियामक धितोपत्र बोर्डको अधिकारलाई आधार मानेर नयाँ स्टक एक्स्चेन्ज अनुमति दिन सकिने स्पष्ट पारेको छ। हालको पूँजी बजार विस्तार हुन नसकेको, नयाँ दलाल व्यवसायीको प्रवेश नहुँदा प्रतिस्पर्धात्मक वातावरण विकास नभएको, र नयाँ वित्तीय औजार नआउनुले बजारमा विविधिकरणको अभाव रहेको विश्लेषण प्रतिवेदनमा गरिएको छ।
त्यस्तै सरकारी स्वामित्वको कारण नेप्से व्यवसायिक ढंगले सञ्चालन हुन नसकेको, कारोबार निपटान प्रक्रियामा ढिलाइ हुने गरेको, र नियामकीय पक्षबाट अपेक्षित सुधार नआएको विवरण पनि समेटिएको छ। नयाँ स्टक एक्स्चेन्जले देशव्यापी बजार विस्तार, वैकल्पिक वित्तीय स्रोतको पहुँच, म्युचुअल फन्ड र संगठित संस्थागत लगानीकर्तालाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

