काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नाम दिइएको ऋणपत्र वार्षिक ८ प्रतिशत ब्याजदर ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । तीमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरका ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ। सर्वसाधारणका लागि खुला गरिएको हिस्सामध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्ता तथा अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यस ऋणपत्रको निष्काशन छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गतेसम्म खुला रहनेछ।
शाइन रेसुङ्गा बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

