काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। सरकारद्वारा गठन गरिएको सिफारिस समितिले भदौ १४ गते सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
आवेदन वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, अर्थ मन्त्रालयमा कार्यालय समयभित्र गोप्य खामबन्दी गरेर बुझाउनुपर्नेछ।
गत भदौ ९ गतेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय सदस्य र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन्।
यसअघि कार्यानुभवसम्बन्धी योग्यता नपुगेको भन्दै मन्त्रिपरिषद बैठकले भदौ २ गते तत्कालीन अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको थियो। गत फागुन १२ गते नियुक्त भएका ओझाको पद खोसिएपछि सहसचिव सेवन्तक पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।
अब सिफारिस समितिले तोकिएको समयभित्र परेका आवेदनको मूल्यांकन गरी नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत अंक प्रदान गरी शीर्ष तीन नाम मन्त्रिपरिषदलाई सिफारिस गरिनेछ। अन्ततः मन्त्रिपरिषद बैठकले तिनैमध्ये एकजनालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ।

