काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विशेष उत्सवका साथ मनाउने गरिन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि जात्रा सुरु हुन्छ। यसलाई इन्द्रध्वजोत्थान भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ। यसलाई शत्रु पराजयपछि विजय मनाउने तथा शक्ति प्राप्त गर्ने पर्वका रूपमा पनि लिइन्छ।
जात्रा सुरु हुनु अघि भक्तपुरको चितपोल जंगलमा तान्त्रिक विधिद्वारा पूजा गरी छोडिएको बोकाले छोएको रूख काटिन्छ। त्यसै रूखबाट इन्द्रध्वज तयार पारिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी, भाद्र शुक्ल एकादशीका दिन विधिपूर्वक ध्वज तयार पार्ने चलन छ।
इन्द्रध्वज ठड्याइएपछि आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ। यस अवधिमा भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशावतार नाच र ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच प्रस्तुत गरिन्छ।
राष्ट्रपति र कुमारीको रथयात्रा
आजको दिन प्रमुख आकर्षण जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हो। हनुमानढोकास्थित गद्दी बैठकमा राष्ट्रपति स्वयं उपस्थित भई रथयात्रा दर्शन गर्ने परम्परा छ। राजतन्त्र रहँदासम्म यो परम्परा राजाबाट पूरा गरिन्थ्यो।
इन्द्रध्वज उठाएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन अर्थात् लडाउने गरिन्छ। धर्मशास्त्रअनुसार भरणी नक्षत्रको रातमा लडाउने व्यवस्था गरिएको छ। धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार, शास्त्रमा ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ।

