काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रिजाललाई गृहमन्त्रालय तान्दै ईश्वर पौडेललाई खटाउने निर्णय गरेका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
सहसचिव पौडेल यसअघि उद्योग मन्त्रालयमा कार्यरत थिए। रिजाललाई गृह मन्त्रालय तानिए पनि जिम्मेवारी तोकि सकिएको छैन। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोलि चलाउन आदेश दिएको भन्दै रिजालको आलोचना भइरहेको छ। छानविन गरेर उनलाई कारबाही गर्न माग पनि भइरहेको छ।
आन्दोलनकारीको निसानामा परेका रिजाल जेनजी आन्दोलनपछि काठमाडौँ प्रशासनमा फर्किन समेत सकेका थिएनन्। यसअघि मंगलबार गृह मन्त्रालयका सचिवको पनि सरुवा गरिएको थियो। सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेर रक्षा मन्त्रालयमा रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको छ।

