पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) का स्वकीय सचिवहरूलाई असोज महिनादेखि तलब रोकिएको छ। प्रदेश सभा सचिवालयका अनुसार संघ सरकारको परिपत्रपछि तलब सुविधा नदिइएको हो।
प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार संघ सरकारले स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेपछि प्रदेशले पनि सोही अनुसार तलब रोक्ने निर्णय गरेको हो।
‘असोजको तलब दिइएको छैन,’ पौडेलले भने, ‘संघको परिपत्र आएपछि हामीले पनि आवश्यकताको सिद्धान्तअनुसार तलब रोक्का गरेका हौँ। बाँकी निर्णय प्रदेश क्याबिनेटले गर्नेछ।’
संघ सरकारले सांसद र पदाधिकारीका स्वकीय सचिवको सुविधा खर्च कटौती र मितव्ययिताको नीति अन्तर्गत रोक्ने निर्णय गरेको थियो। सो निर्णयको परिपत्र प्रदेश तहसम्म पठाइएको र गण्डकीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज ८ गते सचिवालयलाई कार्यान्वयनका लागि पत्र पठाएको थियो।
हाल प्रदेशसभामा ६० जना सांसद छन्, जसमा ८ जना मन्त्री छन्। बाँकी ५२ सांसदका स्वकीय सचिवहरूको तलब स्थगित गरिएको छ। सचिवालयका अनुसार यो निर्णयले ५७ जना स्वकीय सचिवको तलब रोकिएको छ, जसबाट मासिक करिब १९ लाख ७२ हजार रुपैयाँ बचत हुने अनुमान छ।
तर सभामुख र उपसभामुखका स्वकीय सचिव भने कायम छन्। उनीहरूको कार्यालय सहयोगीसहित ६ जनालाई मासिक २ लाख १६ हजार रुपैयाँ भुक्तानी भइरहेको सचिवालयले जनाएको छ। सभामुख कृष्ण धितालले कार्यालय सहयोगी नबोलेको जानकारी दिइएको छ।

