काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिद गर्न ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रालयले स्रोत सहमति प्रदान गर्दै नेपाल प्रहरीका लागि १०६ सवारी खरिद गर्न ४५ करोड ३० लाख रुपैयाँ छुट्याएको छ। यस रकमबाट प्रहरीले १०० पिकअप र ६ कैदी सवारी खरिद गर्नेछ।
सशस्त्र प्रहरी बल नेपालका लागि अर्थ मन्त्रालयले ५० वटा सवारी खरिद गर्न २३ करोड ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। यसमा २० पिकअप, २० रिमोट कन्ट्रोल भेहिकल (आरसीभी), २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यु भ्यान र ५ वटा १२ वाई १२ ट्रक खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयले दिएको स्रोत सहमतिले सुरक्षा निकायहरूको सवारी आवश्यकता पूरा गर्ने र आपत्कालीन परिस्थितिमा थप तयारी गर्ने लक्ष्य राखेको छ।

