काठमाडौँ । नेपाल आयल निगम व्यवस्थापनको लापरवाहिका कारण देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । निगमले लागू गरेको इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सिष्टम आइतबार बिहानैदेखि बन्द हुँदा ढुवानी ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रदान आइतबार बिहानैदेखि उक्त सिष्टम बन्द हुँदा डिमान्ट गर्न नसकेको बताउँछन् । ‘हामीले तेलको अडर सबै उक्त सिष्टमबाटै गर्ने हो, शुक्रबारसाँझसम्म कुनै समस्या थिएन । शनिबार निगमको थानकोट डिपो बन्द हुन्छ । आइतबार बिहानै अडर गर्दा भएन’ उनले भने ।
निगम व्यवस्थापनको लापरबाहीका कारण देशभर सञ्चालित १६ सयभन्दा बढी पेट्रोलपम्पमा इन्धन वितरण ठप्प हुने जोखिम बढेको अध्यक्ष प्रधान बताउँछन् ।
उनले व्यवसायीले अडर गर्दा नभएपछि मात्रै निगमलाई उक्त इआरपी सिष्टममा समस्या भएको जानकारी भएको हो । निगम स्रोतका अनुसार इआरपी प्रणालीको वार्षिक शुल्क भुक्तानी गरेर नवीकरण गर्न ढिलाइ भएकाले यसपटक ‘सिस्टम डाउन’ भएको हो ।
निगमका वितरण शाखाका निर्देशन सुरज शाहा सिष्टममा समस्या देखिएको भन्दै समाधानको काम भैरहेको बताए । उनले समस्याको विषयमा छलफल शुरु भएको भन्दै छिट्टै समाधान हुने बताए ।
व्यवस्थापनले नवीकरण शुल्क भुक्तानी गर्न ढिलाइ गरेपछि इआरपी परियोजनाका प्रमुख राजन नेपालले एक महिनाअघि नै राजीनामा दिइसकेका छन् । तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन ।
परियोजना प्रमुखविहीन भएको अवस्थामा इआरपीले तत्कालै काम नगरे देशभर पेट्रोल, डिजेलको आपूर्तिमा समस्या हुने व्यवसायीको चिन्ता छ । दैनिक करिब ८० लाख लिटर पेट्रोल र डिजेलको खपत छ । सो परिमाणबराबरको तेल निगमका डिपो भित्र ट्यांकरमा लोड गर्ने, ढुवानी गरेर सम्बन्धित पम्पमा लैजाने र पम्पले अनलोडिङ गरी बिक्री गर्ने भएकाले बिहानदेखि सो कार्य थालनी हुनुपर्ने भए पनि प्रणाली बन्द भएकाले अहिलेसम्म सबै काम ठप्प छ ।
दिउँसोसम्म नचले उपत्यकामा अभाव हुनसक्ने
अध्यक्ष प्रधान आइतबार दिउँसोसम्म उक्त सिष्टम सञ्चालनमा नआए काठमाडौँ उपत्यकाका अधिकांश पम्पहरु बन्द हुनेछन् । ‘शुक्रबार गरेको अडरले आइतबार दिउँसो १ देखि २ बजेसम्मका लागि पुग्ने गरेको थियो । आइतबारका लागि हामीले बिहानै अडर गर्ने गरेका थियौँ । अहिलेसम्म सिष्टम चलेको छैन्, छिटै चलेन भने अभाव हुनसक्छ’, उनले भने ।
पटक पटक समस्या
इआरपी प्रणालीमा खराबी आएको यो पहिलोपटक भने होइन । गत वैशाखमा पनि निगमकै लापरबाहिले ३ दिनसम्म सिष्टममा समस्या देखिएको थियो ।
निगमले इआरपी सफ्टवेयरमार्फत तेल खरिद गर्ने पेट्रोलपम्पबाट रकम संकलन गर्ने र इआरपी बिलिङका आधारमा पम्पलाई तेल दिएर पठाउने गरेको छ । तर, वार्षिक मर्मत सम्झौताअनुसारको रकम समयमै निकासा नगर्दा इआरपी सफ्टवेयर नै अहिले बन्द छ ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले इआरपी सिस्टममा पटक–पटक समस्या आइरहँदा इन्धन वितरणमा असहजता महसुस हुन थालेको बताए । ‘सिस्टम बिग्रेर इन्धन आपूर्ति रोकिएको यो पहिलो घटना होइन,’ उनले भने, ‘धेरैपटक यस्तो भइसक्यो । त्यसैले अब इआरपी सिस्टमको विकल्पबारे पनि सबै पक्षले सोच्नुपर्छ ।’

