काठमाडौँ । बुद्ध एयरको काठमाडौं–भरतपुर उडान सुरक्षाको दृष्टिले उच्च जोखिममा रहेको भन्दै गम्भीर प्रश्न उठ्न थालेका छन् ।
१५ सय मिटर रनवे रहेको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्धको जहाज रनवेबाट चिप्लिएसँगै भरतपुर उडानको सुरक्षामा समेत गम्भीर प्रश्न उठ्न थालेको हो ।
एटीआर ७२ सिट क्षमताको जहाजलाई उडान तथा अवतरणका लागि १३ सयदेखि १३५० मिटरको रनवे आवश्यक पर्छ । तर, १२ सय मिटर क्षमताको रनवे भएको भरतपुर एयरपोर्टमा बुद्धको उडान उच्च जोखिममा रहेको पाइएको हो । १२ सय मिटर क्षमताको उक्त विमानस्थलमा १ सय मिटर रनवे प्रयोगमा नै नआएको पाइएको छ ।
यस्तै, भरतपुर उडानका क्रममा बारम्बार देखिने प्राविधिक समस्या, मौसमको संवेदनशीलता तथा विमानस्थलको भौगोलिक अवस्थाले यात्रु सुरक्षामा गम्भीर खतरा बढाएको उडान क्षेत्रका विज्ञहरु बताउँछन् ।
भरतपुर विमानस्थल छोटो धावनमार्ग, वरपरको बस्ती र मौसमको अचानक परिवर्तनका कारण पहिल्यैदेखि चुनौतीपूर्ण मानिँदै आएको छ । यस्तै अवस्थामा बुद्ध एयरका उडानहरू नियमित रूपमा सञ्चालन भइरहे पनि आवश्यक सुरक्षा मापदण्ड पर्याप्त रूपमा पालना नभएको आरोप लाग्दै आएको छ । केही यात्रुहरूले अवतरण र उडानका क्रममा असहज अवस्था भोग्नुपरेको गुनासो गरेका छन् ।
उडान सुरक्षाका विज्ञहरूले भने कुनै पनि उडानमा सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
सबै मापदण्ड पालना गरेका छौँ, बुद्ध एयर
भरतपुर विमानस्थलको उडान सुरक्षाको विषयमा चासो देखिन थालेपछि बुद्ध एयरले भने सबै मापदण्डको पालना गरेर उडान गरिएको दाबी गरेको छ । बुद्ध एयरका एक उच्च स्रोतले नाम नबताउने शर्तमा नागरिक उडड्यन प्राधिकरणका सबै मापदण्ड पालना गर्दै उडान गरिएको दाबी गरे ।
उनले भरतपुर उडानमा सिंगल इन्जिन बराबरको यात्रु तथा कार्गाे मात्रै बोक्ने गरिएको बताउँदै सबै सुरक्षा पालना गरिएको बताए । बुद्धले मापदण्डको पालना गरिरहेको र फूल अकुपेन्सी नबोकेको दाबी गरिरहदा यात्रुहरुले भने सबै उडान फूल अकुपेन्शीमा हुने गरेको बताउने गरेका छन् ।
बुद्धको भरतपुर उडानको सुरक्षालाई लिएर एक यात्रु प्रशान्त अधिकारीले सामाजिक सञ्जालमा समेत प्रश्न गरेका छन् । उनले टिकटकमा एउटा भिडियो राख्दै उक्त उडानको जोखिमको विषयमा प्रश्न उठाएका हुन् ।
सीएनएन खबरसँग सम्पर्कमा आएका उनले आफूले ४/५ पटक बुद्धको भरतपुर–काठमाडौँ उडान गरेको बताउँदै उक्त उडानका क्रममा फूल अकुपेन्सी रहेको बताए । सधैजसो कोचाकोच हुने उक्त उडानले ठूलो दुर्घटना निम्ताउने उनले आशंका व्यक्त गरे ।
‘चितवनबाट उड्ने क्रममा वा काठमाडाैँमा ल्याण्ड गर्ने समयमा एटीआर ७२ मा त्यस्तै कुनै पनि समस्या नहुनसक्छ । तर, काठमाडौँबाट यात्रु लिएर चितवनमा ल्याण्डीङको क्रममा चाँही भरतपुरमा रहेको १२ सय मिटरको रनवे र विमानस्थलको (मुख्यकुरा गर्दा पूर्वतिरबाट पश्चित तर्फको रनवे वा अझै भनौँ हाकिमचोक साइटतिर रहेको अनावश्यक निर्माण कार्यले झन्डै १ सय मिटर रनवे कुनै पनि एयरलाइन्सले प्रयोग गर्न पाएका छैनन् । ११ सय मिटरमा एटीआर ७२ सय मिटरलाई रोकाउन फोर्स ब्रेकिङ गरेर मात्रै सम्भव छ । यसले कहिलेकाँही जोखिमहरु बढाउन सक्छ’, उनले भनेका छन् ।
उनले १५ सय मिटरको रनवे रहेको भद्रपुर विमानस्थलमा बुद्ध एयरकै एटीआर ७२ जहाज रनवेबाट चिप्लीएको बताउँदै भद्रपुरको घटनाले एटीआर जहाज भरतपुर विमानस्थलमा ल्याण्ड गर्दा धेरै दृष्टिकोणले रिक्स रहेको दाबी गरे ।
‘वायुसेवा कम्पनीहरुले ५५ देखि ६० जनालाई मात्र उडान गर्ने गरिएको भनेका छन् । तर, मैले गरेको ४÷५ पटकको उडानका क्रममा फूल प्यासेन्जर सहित उडान गर्ने गरेको छ । खतराको घण्टीलाई बजाईरहेको हो कि भन्न सक्ने अवस्था छैन्’, उनले भने ।
सानो रनवे क्षमता रहेको भरतपुर एयरपोटमा बुद्धले ७२ सिट क्षमताको एटीआर जहाजबाट उडान गर्दा सबै मापदण्डको पालना भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले दाबी गरेको छ । प्राधिकरण अन्तरगतको एभिएसन सेफ्टी एण्ड सेन्युरिटी रेगुलेशन निर्देशनालयका निमित्त प्रमुख बिक्रम राज गौतमले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै बुद्धलाई भरतपुर उडानको अनुमति दिईएको बताए ।
उनले पछिल्लो समय भरतपुर उडानका क्रममा बुद्धले केही लापरवाही गरेको भेटिए कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिए ।
याे पनि:
भद्रपुर उडानमा बुद्ध एयरको गम्भीर लापरवाही, हटायो अपरेशन प्रमुख
दुर्घटना जाँचबुझ समिति गठन नहुँदै किन निकालियो बुद्धको जहाज ?

