काठमाडौं । नेपाल डिस्टिलरिज प्रा.लि. (एनडीपीएल) ले दक्षिण एसियाली सिर्जनशीलताको प्रतिष्ठित मञ्च फ्लेम अवार्ड्स एसिया २०२६ मा चार प्रमुख सम्मान जितेको छ। एनडीपीएलका मेरो खुकुरी र न्युड ब्रान्डका अभियानले दुई स्वर्ण, एक रजत तथा प्रतिष्ठित दक्षिण एसिया ग्रान्ड प्रिक्स जितेका हुन्।
भारतको नयाँ दिल्लीमा आयोजित फ्लेम अवार्ड्स एसिया २०२६ को समारोहमा यी सम्मान प्रदान गरिएको हो। अनुभवात्मक मार्केटिङ, ब्रान्ड एक्टिभेसन, उपभोक्ता संलग्नता तथा नवीनताका क्षेत्रमा दक्षिण एसियाभर उत्कृष्ट कामलाई सम्मान गर्ने अवार्डमा एनडीपीएलका अभियानले उल्लेखनीय सफलता हासिल गरेका हुन्। अभियानका लागि सिर्जनात्मक एजेन्सीका रूपमा आउटरीच नेपालले काम गरेको थियो।
मेरो खुकुरीले जित्यो दुई स्वर्ण
एनडीपीएलको ‘मेरो खुकुरी’ अभियानले दुई फरक विधामा स्वर्ण अवार्ड जितेको छ। अभियानले ‘साउथ एसिया इमर्जिङ मार्केट क्याम्पेन’ र ‘साउथ एसिया लास्ट–माइल इनोभेसन’ विधामा स्वर्ण प्राप्त गरेको हो।
पुस्तौंदेखि उपभोक्ताले खुकुरी ब्रान्डसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धलाई अभियानले अपनत्व र आफ्नोपनको अभिव्यक्तिमा रूपान्तरण गरेको थियो। उपभोक्तालाई नै ब्रान्डको कथाको केन्द्रमा राख्दै अभियानले ब्रान्ड र उपभोक्ताबीचको सम्बन्धलाई थप सशक्त बनाएको कम्पनीले जनाएको छ।
यस अभियानले उपभोक्ताको व्यवहार र भावनालाई बुझेर त्यसलाई प्रभावकारी ब्रान्ड अवधारणा तथा सहभागितामा रूपान्तरण गर्न सफल भएको भन्दै सम्मान प्राप्त गरेको हो।
न्युडको ‘जस्ट बी यु’लाई ग्रान्ड प्रिक्स
अवार्ड समारोहको सबैभन्दा ठूलो उपलब्धिका रूपमा न्युडको ‘जस्ट बी यु’ अभियानले दक्षिण एसिया ग्रान्ड प्रिक्स प्राप्त गरेको छ।
व्यक्तिगत पहिचान, प्रामाणिकता र आत्मअभिव्यक्तिको अवधारणामा आधारित उक्त अभियानले ब्रान्डको मूल विश्वासलाई साहसी तथा सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारमार्फत प्रस्तुत गरेको थियो।
उपभोक्तालाई आफूजस्तो हुन प्रोत्साहित गर्ने अभियानले स्पष्ट ब्रान्ड सन्देशलाई प्रभावकारी सिर्जनशीलतासँग जोड्दै दक्षिण एसियाली स्तरमा उत्कृष्ट पहिचान बनाउन सफल भएको हो।
पोखरा फ्ल्यास मोबलाई रजत
त्यस्तै, ‘पोखरा फ्ल्यास मोब’ अभियानले ‘स्मल बजेट क्याम्पेन–साउथ एसिया’ विधामा रजत अवार्ड जितेको छ।
सीमित बजेटमा पनि स्थानीय परिवेशको गहिरो बुझाइ, सिर्जनशील अवधारणा र प्रभावकारी कार्यान्वयनमार्फत ठूलो प्रभाव सिर्जना गर्न सकिने उदाहरणका रूपमा उक्त अभियानलाई अवार्ड प्रदान गरिएको हो।
नेपाली सिर्जनशीलताको क्षेत्रीय पहिचान
एनडीपीएलका अनुसार चारवटै सम्मान फरक–फरक अभियान र विधाबाट प्राप्त भए पनि तिनको मूल आधार मानिस र संस्कृतिको गहिरो बुझाइ हो।
यी उपलब्धिले नेपाल डिस्टिलरिज र आउटरीच नेपालको सिर्जनात्मक साझेदारीलाई समेत थप बलियो बनाएको कम्पनीको भनाइ छ। ब्रान्ड रणनीति, उपभोक्ता अन्तर्दृष्टि, सिर्जनशीलता र प्रभावकारी कार्यान्वयनलाई एकीकृत गर्दै नेपालमा जन्मिएका र नेपाली उपभोक्ताबाट प्रेरित अभियानलाई क्षेत्रीय मञ्चमा प्रतिस्पर्धी बनाउने प्रयासले सफलता पाएको कम्पनीले जनाएको छ।
नेपाल डिस्टिलरिजका लागि यी अवार्ड केवल सम्मानको संख्या मात्र नभई नेपालमै सिर्जना भएका र नेपाली बजारको वास्तविकता तथा संस्कृतिबाट प्रेरित विचारले दक्षिण एसियाका उत्कृष्ट सिर्जनशील कामसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने प्रमाण भएको बताइएको छ।
दुई ब्रान्ड, चार अवार्ड र नेपाली सिर्जनशीलताका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय पहिचानका रूपमा एनडीपीएलले यस उपलब्धिलाई लिएको छ।

