काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको पर्याप्त उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको छ।
मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो।
स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य संस्थाबाट सेवाग्राहीलाई वर्षभरि आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने उद्देश्यले सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले पठाएको परिपत्रमा स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको खरिद, उपलब्धता, भण्डारण र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने उल्लेख छ। औषधि अभावका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ।
परिपत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न प्रकारका औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत पठाइएको छ। उक्त सूचीमा औषधिका अतिरिक्त स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन्।
स्थानीय तहले आफ्नो क्षेत्रका स्वास्थ्य संस्थाको आवश्यकता पहिचान गरी सूचीअनुसार औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुपर्नेछ। साथै, उपलब्ध औषधिको उचित भण्डारण तथा सेवाग्राहीलाई निःशुल्क र नियमित वितरण हुने व्यवस्था मिलाउनुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयको यो पहलले स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा औषधिको अभाव कम गर्नुका साथै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

