काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
यसअघि गएको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको थियो।
पछिल्लो तीन कारोबार दिनमै सुनको मूल्यमा लगातार गिरावट आएको हो। शुक्रबारको तुलनामा आज सुन ९ हजार ५ सय रुपैयाँले सस्तिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि आज उल्लेख्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको भाउ तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। गएको शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनको मूल्यले यसअघि ऐतिहासिक उचाइ कायम गरेको थियो। गएको माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि यसअघि ऐतिहासिक उचाइमा पुगेको थियो। गएको माघ १५ गते चाँदीको भाउ प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यो पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो।
माघ १८ गते चाँदीको मूल्यमा तोलामा १ हजार ५ सय ६५ रुपैयाँको गिरावट आएको थियो, जुन चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो एकदिने गिरावटका रूपमा रहेको छ।

