काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन्।
अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरूले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरूलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन्।
माघ २२ गते शुरु भएको अभियान फाल्गुन ६ गतेसम्म चल्नेछ। अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ।
अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।

