२०८३, आश्विन १९ गते

images

स्ववियुमा सीर्जनशील र विद्यार्थीमैत्री नेतृत्व

स्ववियुमा सीर्जनशील र विद्यार्थीमैत्री नेतृत्व

सीएनएन खबर
सोमवार, फाल्गुण २६ २०८१०२:२५
सीएनएन खबर
सोमवार, फाल्गुण २६ २०८१०२:२५
  • images

    राजनीति केवल तत्कालका समस्याहरुको सतही समाधानको मार्ग, कोरा सिद्धान्त र आश्वासन मात्र होइन यो विद्यमान समस्याको दीगो तथा दीर्घकालीन समाधान खोज्ने तथा आम अपेक्षाहरुको परिपूर्ति गरी मानिसहरुमा आशा तथा भरोसा जागृत गर्ने नीतिहरुको मूल नीति र अभ्यास पनि हो। राजनीतिशास्त्रका पिता अरस्तुका अनुसार मानिस स्वभावैले एक राजनीतिक प्राणी भएको हुँदा उ मूल्य तटस्थ रहन सक्दैन। आम जीवनका हरेक पक्षहरुमा प्रभाव पार्ने विषयको रुपमा रहेको राजनीति समाजको सुसञ्चालन, मानवीय प्रगति तथा मुलुकका हरेक क्षेत्रको उन्नति र विकासको पूर्वशर्त हो।

    असल, जनपक्षीय, दूरगामी, जनमैत्री तथा सेवा, इमान्दारिता र आचरणले युक्त राजनीतिको माध्यमबाट नै राष्ट्र निर्माण सम्भव हुन्छ। राजनीतिक विकास एक निरन्तर चलिरहने प्रक्रिया हो। रोम केवल एकदिनमा निर्माण भएको होइन चर्चित उक्तिबाट पनि के पुष्टि हुन्छ भने महत्वपूर्ण उपलब्धी, रुपान्तरणका साथै महान कामहरु तत्कालका परिणति नभई निरन्तरको मेहेनत, धैर्य र असल नेतृत्वको सत्प्रयासका नतिजा हुन्। सही नेतृत्व आउँदा मुलुक तथा संस्थाले कसरी काँचुली फेर्छ भन्ने तथ्य लि क्वान यू ले बनाएको सिँगापुर तथा स्टिभ जब्सले सिर्जना तथा विकास गरेको एप्पल कम्पनीको तरक्कीले पुष्टि गर्दछ।

    नेपालमा समग्र मुलुक तथा सार्वजनिक संगठन तथा निकायहरुमा एउटा प्रमुख समस्या भनेकै असल सेवामूखी तथा दूरदृष्टियुक्त नवप्रवर्तनशील नेतृत्वको अभाव नै हो भन्ने यथार्थता कतैबाट पनि लुकेको छैन । ज्ञानका केन्द्र तथा मुलुक हाँक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरु असल तथा सक्षम नेतृत्व उत्पादन अभ्यास तथा अभिमूखीकरणका केन्द्र पनि हुन् । अझ राज्यका नीतिहरुलाई मूर्त रुपमा व्यवाहारिक कार्यान्वयन गर्ने प्रशासन र यसका जनशक्तिको लागि एक प्रकारको फोकल कलेजको रुपमा रहेको जनप्रशासन क्याम्पस वास्तवमा मुलुकको प्रशासनिक प्रतिबिम्ब पनि हो।

    यो क्याम्पसमाथि मुलुकको प्रशासनिक नेतृत्व र जनशक्तिको जतिधेरै आस्था र विश्वास कायम हुनसक्छ त्यसले यहाँको गुणस्तरीयता प्रवर्द्धन गर्ने मात्र होइन मुलुकको विकास र सेवा प्रवाहमा उति नै सकारात्मक प्रभाव पार्ने तथ्य जगजाहेर छ। त्यसैले क्याम्पसको शैक्षिक वातावरण र शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्नका लागि यहाँको प्राज्ञिक प्रशासनिक मात्र नभई विद्यार्थी वर्गको सांगठनिक नेतृत्वले समेत गम्भीरता पूर्वक भूमिका निर्वाह गर्नुपर्दछ।

    विद्यार्थीको साझा प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनका साथै बहुसंख्यक विद्यार्थीहरुको आस्थाको केन्द्रको रुपमा रहेको अखिल क्रान्तिकारीको पदाधिकारी तहमा रहेर मैले देखेको जन-प्रशासन बुझेको जन-प्रशासन र भोगेको जन-प्रशासनलाई Ethnographic approach मार्फत् विश्लेषण गर्दा के निष्कर्ष निकालेको छु भने वर्तमानमा मुलुक चलाउने मात्र नभई भविष्यमा मुलुकलाई डोर्याउने सम्मका विद्यार्थीहरुको आस्थाको धरोहरको रुपमा यो क्याम्पसको प्राज्ञिक उन्नयनमा आमूल रुपान्तरण मात्र होइन विद्यार्थी वर्गको अपेक्षा पूर्ति गर्ने र  सार्वजनिक व्यवस्थापन तथा प्रशासनिक पुनर्संरचनाका खातिर अब्बल विश्वस्तरीय जनशक्ति उत्पादन गर्नसक्ने गरी जनप्रशासन क्याम्पसलाई सुदृढ गर्नुपर्ने आवश्यकता छ। पाठ्यक्रम र परीक्षा प्रणालीको सामयिक सुधार, सार्वजनिक निकायहरुमा यहाँका स्नातक विद्यार्थीका लागि पर्याप्त एक्सपोजर तथा अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने र विद्यार्थीलाई सरकारी सेवाका परीक्षाको तयारी गर्न कुनै ट्युसन इन्स्टिच्यूटमा धाउनै नपर्नेगरी सिकाईको अभ्यास तथा अवसरसँगै लेखनसीप र क्षमता प्रदान गर्नेगरी दक्षता तथा विज्ञता प्रदान गर्नुपर्नेछ। यसका लागि क्याम्पसको प्रशासनिक तथा प्राज्ञिक नेतृत्वको सकारात्मक पहलकदमीसँगै विद्यार्थीको कारात्मक हस्तक्षेप र नेतृत्व आवश्यक छ।

    युवावर्गमा राजनीति र नेताप्रतिको आम मनोविज्ञान र धारणा सकारात्मक बन्न नसकिरहेको बेलामा ज्ञान उत्पादन गर्ने विश्वविद्यालयको विद्यार्थी राजनीतिलाई सिर्जनात्मक र नवप्रवर्तनकारी बनाउनु आवश्यक छ। कुत्सित स्वार्थका लागि प्राज्ञिक संस्थामा फोहोरी राजनीति गर्ने तथा विद्यार्थीको हक हीत  र क्याम्पसमा शैक्षिक सुधारको साटो अमूक नेता तथा पार्टीको भाषा बोल्ने र नारा तथा एजेण्डाको मात्रै भारी बोक्ने पुरानत तथा विकृत  विद्यार्थी राजनीति अबको लोकतान्त्रिक तथा अत्याधुनिक युगमा कदापि सह्य हुन सक्दैन। यस्तो विद्यार्थी राजनीति Off the People, far from the people and buy the people भन्ने स्वार्थी सिद्धान्तमा आधारित हुन्छ।

    त्यसैले आम विद्यार्थीका माग, अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्ने, सबै विद्यार्थीको भावना अट्ने र हीतको प्रतिनिधित्व गर्ने of the student, by the student, for the student भन्ने लोकतान्त्रिक चेत भएको, विवेकी तथा सम्पूर्ण विद्यार्थीहरुको अपनत्व र नियन्त्रण कायम भएको नेतृत्वले नै अबको स्वतन्त्र विद्यार्थी युनियन हाँक्ने अवसर पाउनु पर्दछ। क्याम्पसमा देखिने अड्चनको गाँठो फुकाउन रचनात्मक मार्गचित्र प्रस्तुत गर्ने तथा विद्यार्थीको माग र समस्याको सम्बोधनका लागि हरघडी सक्रिय रहने विद्यार्थीमैत्री नेतृत्व चयनमा सम्पूर्ण विद्यार्थीहरुको सक्रिय सहभागिता रहनेछ भन्ने अपेक्षा हाम्रो छ। यसबाट  विद्यार्थीको हकहीतका कार्यहरुले भविष्यमा झनै मूर्तरुप पाउनेछन् भन्ने विश्वास दिलाउन सकिनेछ।    

    (लेखक जनप्रशासन क्याम्पसका स्ववियु उपाध्यक्ष हुन्।)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend