काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा नयाँ सुविधासम्पन्न चलचित्र हल ‘शिवालय सिनेप्लेक्स’ शुक्रबारदेखि संचालनमा आएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सिनेप्लेक्सको उद्घाटन गरेका हुन्।
२४६ सिट क्षमताको यो हललाई स्थानीय युवा उद्यमी सन्तोष सरगम अधिकारी र पासाङ लामा गोपाल को संयुक्त लगानीमा संचालनमा ल्याइएको हो।
उद्घाटन समारोहमा विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष बुद्धिबहादुर प्रधान, उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ, चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
चलचित्र विकास बोर्डले बन्द भएका पुराना हलहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याउने अभियान अन्तर्गत शिवालय सिनेप्लेक्सको उद्घाटन गरिएको हो। सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन, उच्चस्तरीय ध्वनि प्रणाली, वातानुकूलित हल, आरामदायी सिट र अनलाइन बुकिङको सुविधा उपलब्ध रहेको सञ्चालकहरूले जानकारी दिए। हलमा शनिबार चार शो र अन्य दिनमा तीन शो प्रदर्शन गरिनेछ।
सञ्चालकद्वयले नेपाली चलचित्रलाई प्राथमिकता दिने र मापदण्डअनुसार गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएका छन्। चलचित्र विकास बोर्डका अनुसार अहिले देशभर सञ्चालनमा रहेका फिल्म हलको संख्या १६८ पुगेको छ। सबै हलहरूमा बक्सअफिस प्रणाली जडान भइसकेको र आउँदो साता देशभर ‘रियल टाइम बक्सअफिस’ संचालनमा आउने तयारीमा रहेको बोर्डले जनाएको छ। साथै, बोर्डले अबदेखि ती १६८ हलमा मात्र फिल्म उपलब्ध गराउने नीति लिएको छ।

