२०८३, आश्विन २० गते

images
  • विशेष
  • २० खर्बको बजेट ल्याउँदै सरकारः कर्मचारीको...

२० खर्बको बजेट ल्याउँदै सरकारः कर्मचारीको तलब बढ्ने, बृद्धाभत्ताको उमेर बढाउनेदेखि इभीको करसम्म

२० खर्बको बजेट ल्याउँदै सरकारः कर्मचारीको तलब बढ्ने, बृद्धाभत्ताको उमेर बढाउनेदेखि इभीको करसम्म

बुधवार, जेठ १४ २०८२०४:५७
बुधवार, जेठ १४ २०८२०४:५७
  • images

    काठमाडौँ । भोली अर्थात बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संघीय संसदका दुबै सदनमा प्रस्तुत गर्दैछन् । जसअनुसार अर्थमन्त्री पौडेलले मंगलबार नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे विस्तृत ब्रिफिङ गरिसकेका छन् ।

    अर्थमन्त्रीले उक्त ब्रिफिङमा २० खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने संकत गरेको पाइएको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो । तर, दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको दबाबमा सिलिङभन्दा माथि गएर बजेट ल्याउने तयारीमा अर्थमन्त्री रहेको पाइएको छ । 

    मंगलबार अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम विपक्षी सांसदहरूका कारण अवरुद्ध भयो । त्यसलाई बुधवारको बैठकमा पेश गर्ने कार्यसूची तयार पारिएको थियो । मंगलबारजस्तै बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो । 

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद बैठक सुचारु गर्न नदिने विपक्षी दलको अडानका कारण बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

    विपक्षी दलले उक्त अडानलाई यथावद राख्दै बजेट प्रस्तुत गर्ने दिने निर्णय गरेसँगै बिहीबार संसद्का दुबै बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

    उक्त बजेटको मुख्य प्राथमिकता कर्मचारीको तलब बृद्धिमा देखिएको छ । विगत ३ वर्षदेखि नबढेको कर्मचारीको तलब यसपालि बढ्ने भन्दै चर्चा भैरहेको छ । 

    यस्तै, अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि राजस्व र करनीति पनि तय गरिसकेको पाइएको छ । यो बजेटले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

    तर, बाहिर चर्चामा आएका शेयर बजारमा पूँजीगत लाभकर वृद्धि, विद्युतीय सवारी (ईभी)को राजस्व वृद्धि, दोहोरो करको निरन्तरता र घरजग्गा व्यवसायमा नीतिगत सुधारको अभावजस्ता विषयले निजी क्षेत्र, लगानीकर्ता र सर्वसाधारण सशंकित देखिन्छन् ।

    मन्त्रालय स्रोतले शेयर लगानीकर्ताका लागि पूँजीगत लाभकारमा वृद्धि हुन सक्ने बताएको छ । आन्तरिक राजस्व विभागको प्रस्तावअनुसार शेयर कारोबारको नाफामा लाग्ने पूँजीगत लाभकरलाई १० प्रतिशतसम्म पु¥याउने तयारी सरकारको छ ।

    त्यस्तै, आयकर ऐनको दफा ५७ र ९५ ‘क’ मा रहेको दोहोरो करको व्यवस्था हटाउने विषयमा पनि माग उठ्दै आएको छ । वैदेशिक लगानी भित्र्याउन बाधक मानिएका यी दफाहरू हटाउन सरकारलाई निजी क्षेत्रले धेरै पहिलेदेखि सुझाव दिएको थियो ।

    दफा ५७ ले कम्पनीको ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन हुँदा कर लाग्ने व्यवस्था गरेको छ । त्यस्तै, दफा ९५ ‘क’ अनुसार शेयर लाभमा कर लाग्छ ।

    यो दोहोरो करले लगानीकर्तालाई अनावश्यक बोझ थपेको टिप्पणी भइरहेको छ । यसले लगानीको वातावरणलाई जटिल बनाउने निजी क्षेत्रको भनाइ छ ।

    यस्तै, आगामी बजेटमा सबैभन्दा बढी चर्चामा रहेको विषय विद्युतीय सवारी (ईभी)को कर वृद्धि हो । मन्त्रालय स्रोतका अनुसार भन्सार र अन्तःशुल्क गरेर ईभीमा न्यूनतम् ४० प्रतिशत कर लगाउने तयारी सरकारको छ ।

    अहिले ५० किलोवाटसम्मका ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लाग्ने प्रावधान छ भने ५१–१०० किलोवाटसम्मका ईभीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क छ ।

    नयाँ प्रस्तावले यी दरहरूलाई न्यूनतम ४० प्रतिशतसम्म पु¥याउने भन्दै अटो व्यवसायीहरू चिन्तित बनेका छन् ।

    आगामी बजेटमा कर्मचारीको तलब वृद्धि हुने कुराले पनि चर्चा पाएको छ । मन्त्रालय स्रोतले पनि तलब वृद्धि हुने सम्भावना रहेको जानकारी दियो ।

    सरकारले कर्मचारीको आधारभूत तलब १० प्रतिशत वृद्धि गर्ने र महंगी भत्तालाई निरन्तरता दिने तयारी गरेको हो । यसले निजामती, सुरक्षाकर्मी, शिक्षकसहित करिब ५ लाख बहालवाला कर्मचारीलाई लाभ पुग्नेछ । स्थायी, अस्थायी र करार कर्मचारीका साथै अवकाशप्राप्त कर्मचारीको पेन्सन पनि बढ्नेछ ।

    हाल सरकारी ढुकुटीबाट तलबमा वार्षिक १ खर्ब २५ अर्ब र पेन्सनमा ८८ अर्ब खर्च हुन्छ । कर्मचारीले मासिक २ हजार रुपैयाँ महँगी भत्ता र वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउँदै आएका छन् ।

    तलब सामान्यतः प्रत्येक २–३ वर्षमा समायोजन हुने इतिहास छ । पछिल्लोपटक २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गरेका थिए । तर, यो वृद्धिले चालु खर्चको बोझ बढाउने र राजस्व सन्तुलनमा दबाब पार्ने जोखिम रहेको विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend