काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा अभिनयबाट सबैको ध्यान तानेकी अभिनेत्री अञ्जना बराइली अहिलेकी डिमान्डेड अभिनेत्रीको रूपमा चर्चामा छिन्। ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’जस्ता लगातार सफल फिल्ममा अभिनय गर्दै ह्याट्रिक गरेकी अञ्जनालाई फिल्म अफरको ओइरो लागेको छ।
फिल्म हिट भएपछि नयाँ प्रोजेक्टको प्रस्ताव आउनु स्वाभाविक भए पनि कुन प्रोजेक्ट छान्ने भन्नेमा अहिले उनी दबाबमा छिन्। 'धेरै अफर आउँछन्, तर सबै गर्न सकिँदैन। कन्टेन्ट हेरेर मात्र केही छानेकी छु' अञ्जनाले भनिन्।
गत आइतबार उनले नयाँ फिल्म ‘परिवर्तन’ साइन गरेकी छन्। फिल्म छान्दा कन्टेन्ट, पात्र र टिमलाई प्राथमिकता दिने उनी भन्छिन्, 'चरित्र गहिरो हुनु पर्छ, टिम पनि सशक्त हुनुपर्छ।' अञ्जना अभिनित अर्को फिल्म ‘महाभोज’ यही बिहीबार रिलिज हुने तयारीमा थियो। तर, पछिल्लो समय उत्पन्न सामाजिक आन्दोलन र असहज अवस्थाका कारण फिल्मको प्रदर्शन स्थगित गरिएको छ।
‘महाभोज’मा अञ्जनाले यसपटक सहरिया युवतीको भूमिका निर्वाह गरेकी छन्। यसअघि अधिकांश फिल्ममा गाउँले पात्रमा देखिएकी अञ्जना यो भूमिका आफ्ना लागि नयाँ अनुभव भएको बताउँछिन्। फिल्मका सह–कलाकारहरूसँगको सहकार्य पनि उनीका लागि विशेष बन्यो। विशेषगरी खगेन्द्र लामिछानेसँगको सहकार्यबारे उनले भनिन्, 'पहिला हिटलर जस्तो लाग्थ्यो, काम गर्दा व्यवहार निकै सरल रहेछ।'
‘महापुरुष’बाट अभिनय यात्रा सुरु गरेकी अञ्जनाले छोटो समयमा नै अभिनय क्षमताबाट दर्शक र फिल्मकर्मीको मन जितेकी छन्। उनलाई अहिले महिला केन्द्रीय भूमिकामा आधारित फिल्ममा काम गर्ने चाहना छ। 'महिला बेसमा फिल्म कम बन्ने गरेका छन्। यस्ता फिल्ममा अभिनय गर्न मन छ' ,उनले भनिन् ।

