२०८३, भाद्र ४ गते

images

जेनजीले खोजेको अखिल

जेनजीले खोजेको अखिल

images
सोमवार, जेठ २६ २०८२०८:१०
सोमवार, जेठ २६ २०८२०८:१०
  • काठमाडौँ । स्वयम्भुको डाँडामा सुर्य अस्ताउन लाग्दा भृकुटीमण्डपबाट हेर्दा कहिलेकाहीँ लाग्छ अहिलेको विद्यार्थी जीवन गफ र गुनासोकोबीच कतै अल्झिएको छ। पढ्नुपर्ने बाध्यता छ तर पढाईको उद्देश्य प्रस्ट छैन। हामी पढ्न बाध्य छौं तर पढाइको गन्तव्य अस्पष्ट छ। देशमै केही गरौं भन्ने चाहना छ तर अवसरहरू ओझेलमा छन्। हामीलाई विद्यालय र विश्वविद्यालयको पर्खालभित्रै सीमित गरिन्छ जबकि हामी डिजिटल संसारमा हुर्किएका छौं। यस्तो परिवेशमा राजनीति जुन पहिलेका पुस्ताहरूको ऊर्जा र परिवर्तनको इन्धन थियो अहिलेका विद्यार्थीहरूका लागि केवल किताबको एक अध्यायजस्तो लाग्छ ।

    अनि राजनीति त्यसमाथिको विद्यार्थी राजनीति?

    त्यो त किताबको कथा बनेको छ। त्यसैले हामी जेनजीका विद्यार्थीहरूका लागि संगठन भनेको मञ्च होइन जवाफ खोज्ने प्रश्न हो।

    हामी त्यो पुस्ता हौं, जसको आत्मबोध डिजिटल युगमै भयो। हाम्रो सामाजिक बौद्धिक विकास इन्स्टाग्रामका फोटोहरू, युट्युबका ट्युटोरियल, टिकटकका लाइभ र ट्विटरको बहसबाट भयो। हाम्रो सामाजिक र बौद्धिक चेतनाको निर्माण स्क्रीनको उज्यालोमा भयो। हामीले मोबाइल चलाउँदै संसार बुझ्यौं तर कक्षा कोठामा अझै घन्टाभरि चुपचाप बस्न सिक्नु पर्यो। हामीले जब इनोभेसन भन्ने शब्द सुन्छौं, हामीलाई हाम्रो गाउँको इन्टरनेटको समस्या सम्झिन्छ। हामी जब नेतृत्वको कुरा गर्छौं हामीलाई कलेजको स्ववियु निर्वाचनभन्दा बढी  हाम्रो प्रोजेक्टको टीम लिडर सम्झना आउँछ। हामी नेतृत्वलाई अब भाषण दिने पात्र होइन, समस्या समाधान गर्ने पात्रको रूपमा बुझ्न थालिसकेका छौं।

    हामी अब त्यस्तो पुस्ता बनिसकेका छौं जसले राजनीतिक भाषणभन्दा बढी, प्रोजेक्ट डेमो माग्छ। संगठनात्मक फोटोसेसनभन्दा बढी डेलिभरेबल ट्र्याकिङ हेर्छ। हामी बुझ्न थालिसकेका छौं गुनासोले मात्र परिवर्तन हुँदैन। र खाली सत्तासमीकरणमा हाम्रो प्रयोग मात्र होस् भन्ने हामीलाई स्वीकार्य छैन।हामी आज यस्तो मोडमा छौं जहाँ हामीलाई नेताले प्रतिनिधित्व गर्छन् भन्ने भाषण सुन्दा अचम्म लाग्छ किनभने हामी सोच्न बाध्य भएका छौं ।

    के कसैले साँच्चै हामीलाई प्रतिनिधित्व गरिरहेको छ?

    हामी यो मात्र चाहँदैनौं कि हाम्रो नाम कुनै मतदाता सूचीमा लेखियोस्।हामी चाहन्छौं कि हाम्रो स्वर, हाम्रो समस्या र हाम्रो समाधानको दृष्टिकोण निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समेटियोस्।

    हामी यो सोच्ने अवस्थामा आइपुगेका छौं कसले हाम्रो आवाजको प्रतिनिधित्व गर्छ?

    हामी पढ्न, कमाउन, निर्माण गर्न र एउटा कम्युनिटीमा रहन पनि चाहन्छौं। तर राजनीति गर्नेहरूले कहिल्यै हामीजस्ता युवालाई निर्माता होइन मतदाताको आँखाले हेर्छन्। हामी जेनजी निर्माणको राजनीतिमा  विश्वास गर्छौं जहाँ नीति, प्रविधि र प्रयोगशालाले भाषणलाई विस्थापन गर्छ।

    Screenshot 2025-06-09 074913.png

    हामी त्यो अखिल खोजिरहेका छौं  जसले हामीलाई भाषण होइन, वातावरण देओस्। जुन संस्थाले हामीलाई प्रेरणा होइन, सहकार्यको स्पेस देओस्। जहाँ हामी विद्यार्थी भएर पनि निर्माणकर्ताको भूमिकामा सहभागी हुन सकौं। जुन ठाउँमा हामीले आफ्नो विचार केवल हाजिर गराउने हैन, असर देखाउने गरी काम गर्ने अवसर पाउँ।

    अखिलको नाम हामीले सानो बेला सुनेका थियौं संघर्ष, आन्दोलन, कठोर भाषण र जुलुस। तर अहिले हामी सुन्छौं साइबर क्रान्ति, इनोभेसन फैलोशिप, फ्युचर स्किल्स, डिजिटल साक्षरताको लहर। पहिला अखिल सडकमा थियो, अब अखिल प्रविधिमा पनि होस् भन्ने चाहना हामीमा छ। किनभने हामी पढाइ मात्र होइन  समस्याको समाधान बन्ने शिक्षाको सपना देख्ने पुस्ता हौं।

    हामी जेनजीको आत्मा बोकेका विद्यार्थी, राजनीतिक स्थायित्वभन्दा पहिले विचार स्थायित्व खोज्छौं। नेतृत्वमा पुराना अनुहारको पुनरावृत्ति होइन, नयाँ दृष्टिकोणको आरम्भ चाहन्छौं। संगठनमा अनुशासन होइन,भविष्यको मार्गनिर्देश खोज्छौं। अखिल अब इतिहासको प्रतीक मात्र नहोस्, यो भविष्यको सम्भावना बनोस्। यस्तो अखिल बनोस्, जसमा हामी सबैले नेतृत्व सिक्न सकौं, नीति निर्माणमा सहभागी हुन सकौं, र आफ्नो विचारलाई कार्यान्वयनमा लैजाने अवसर पाऔं।

    अब समय आएको छ हामी जेनजी विद्यार्थीहरूलाई सुन्ने मात्र होइन, हामीसँगै निर्माण र अन्वेषणमा होमिने अखिलको। यस्तो अखिल जसले शिक्षा, नेतृत्व र संगठनलाई पुनर्परिभाषित गरोस्। जुन हाम्रो पुस्ताको प्रविधि, प्रयोगशैली र परिवर्तनप्रतिको आकांक्षालाई आत्मसात गरोस्। अखिल अब आन्दोलनको परम्परा मात्र नभई भविष्य निर्माणको प्लेटफर्म बनोस्। यही हाम्रो आकांक्षा हो, यही हाम्रो संगठनप्रतिको पुनःकल्पना हो।

    हामी त्यो अखिल बनाउने सपना देख्छौं, जहाँ सदस्यता फारामभन्दा पहिला आइडिया आईडियाको पिच डेक तयार गरिन्छ। जहाँ संगठनको केन्द्रमा भीड होइनबौद्धिक उत्पादन, समाधान निर्माण र सामाजिक प्रभाव हुन्छ। हामी जेनजी विद्यार्थीहरूलाई सुन्ने मात्र होइन, संगै निर्माण गर्ने अखिल। संगठनको शक्ति अब पोस्टर र नाराबाट होइन, समाधान र इनोभेसनबाट मापन हुन्छ।

    अब समय आएको छ यस्तो अखिल निर्माण गर्ने जसले भोलिको नेतृत्व निर्माण गर्ने आजको २४ औं अधिवेशन प्रयोगशाला बनोस्। जहाँ राजनीति केवल बौद्धिक अभ्यास नभई, व्यावहारिक समाधानहरूको मंच बनोस्।

    हामी खोज्दैछौं नयाँ अखिल, जो हामीजस्तै नयाँ सोच, नयाँ प्रविधि र नयाँ शैलीले भरिएको होस्। जसले हामीलाई हिजोका आन्दोलन सम्झाइदिने मात्र होइन, भोलिको सम्भावना देखाउने बनोस्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend