२०८३, आश्विन २० गते

images
  • विशेष
  • कुशल नेतृत्वले मोदी जलविद्युत कम्पनीमा आएको...

कुशल नेतृत्वले मोदी जलविद्युत कम्पनीमा आएको परिवर्तन, समस्याग्रस्त आयोजनाको सहज उडान

कुशल नेतृत्वले मोदी जलविद्युत कम्पनीमा आएको परिवर्तन, समस्याग्रस्त आयोजनाको सहज उडान

शुक्रवार, जेठ ३० २०८२११:४८
शुक्रवार, जेठ ३० २०८२११:४८
  • images

    काठमाडौं । कुनै संस्थामा एउटा सक्षम नेतृत्वको प्रवेशले कति फरक पर्छ भन्ने कुराको उदाहरण बनेका छन्, सूर्य प्रसाद पौडेल । पौडेले आफूले नेतृत्व गरेको ठाउँमा अब्बल काम गरेपछि नेपाल विद्युत प्राधिकरणले चुनौतीपूर्ण अवस्थामा रहेका आयोजनाको जिम्मेवारी उनै पौडेललाई दिने गरेको छ । 

    प्राधिकरण अन्तर्गतको सहायक कम्पनी मोदी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्ने आयोजनाहरु कुनै बेला सकसपूर्ण अवस्थामा भए पनि अहिले पौडेलको नेतृत्वमा भने सहज रुपमा अगाडि बढेका छन् । सन् २०२८ भित्र उत्पादन थाल्ने गरी कम्पनीले यस अन्तर्गतका आयोजनाहरुको निर्माण कार्य धमाधम गर्दै आएको छ । प्राधिकरण अन्तर्गत सहायक कम्पनीका रुपमा रहेको सो कम्पनीमा नेपाल बिद्युत प्राधिकरणको ६८ प्रतिशत शेयर लगानी रहेको छ भने बाँकी लगानी सर्बसाधारण जनताको रहेको छ । 

    कम्पनीले हाल कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११, १० र ८ मा ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ र १८.२ मेगावाट क्षमताको माथिल्लो मोदी गरी ६० मेगावाट क्षमताको दुइटा आयोजना निर्माण गरिरहेको छ । 

    सन् १९९७ मा अध्यायन सुरु गरेको उक्त आयोजना निर्माण सुरु हुनै ढिलाइ हुँदै आएको छ । प्राधिकरणले सन् २०२८ सालको मंसिरभित्र निर्माण सक्नेगरी जिम्मेवारी दिएको थियो । प्राधिकरणले दिएको जिम्मेवारी पूरा गर्नेगरी कम्पनीले हाल निर्माण तथा बाँकी भएका कामका लागि टेन्डर आह्वानको काम गरिरहेको छ । 

    मोदी जलविद्युत कम्पनीको आयोजना प्रमुखका रुपमा गएका इन्जिनियर सूर्य प्रसाद पौडेल हाल प्रबन्ध सञ्चालकका रुपमा कार्यरत छन् । २०७६ सालको श्रावणमा आयोजना प्रमुखको रुपमा गएका उनलाई प्राधिकरणले २०७७ को असोजदेखि प्रबन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो । दुइटा आयोजनालाई मिलाएर प्राधिकरणले मोदी जलविद्युत कम्पनी बनाएपछि पौडेलले प्रवन्ध सञ्चालकको जिम्मेवारी पाएका हुन् । 

    लामो समयदेखि निर्माणको सुरुवात नै हुन नसकेको उक्त आयोजनामा पौडेल पुगेपछि धमाधम निर्माणको काम सुरु भएको हो । सन् २००४ मा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको उक्त आयोजना सन् २०२८ भित्र सक्ने लक्ष्य रहेको प्रबन्ध सञ्चालक पौडेल बताउँछन् । 

    ‘म आयोजनामा आउँदा थोरै जग्गा अधिग्रहणको काम भएको थियो, अरु केही काम भएको थिएन । म जानासाथ फिजिबिलीटी अध्ययन सकाएँ । अन्तर्राष्ट्रिय परामर्शदाताबाट भैरहेको काम सकेर आयोजनालाई आवश्यक पर्ने थप जग्गा अधिग्रहणको काम सुरु गरेँ,’ उनले भने, ‘आयोजनाका लागि आवश्यक कार्यालय,  क्याम्प बनाउने काम गरियो, म आयोजनामा गएको १ वर्षपछि निर्माणका लागि ऋण दाताको खोजि सुरु भयो । एनएमबी बैंकको अगुवाईमा ऋण लगानी सम्झौता भयो ।’

    अहिले साढे १५ अर्ब रुपैयाँको लगानीमा दुइटा आयोजना निर्माण हुँदैछन् । २०७९ मा माथिल्लो मोदी ए आयोजना निर्माणका लागि टेन्डर आह्वान भएको थियो । पहिलो टेन्डरमा कुनै पनि कम्पनी छनोटमा पर्न नसकेपछि पुनः दोस्रो पटक टेन्डर आह्वान गर्नु परेको उनी बताउँछन् ।

    यस्तै, तल्लो आयोजनाका लागि पनि हाल टेन्डर आह्वान गरेर ऋणको खोजी सुरु भएको उनले बताए । ‘अबको केही महिनाभित्रै यो काम पनि सक्छौँ । हामीले पीपीएको काम सम्पन्न गर्यौं, इआईएको काम सकिएको छ, आयोजनाका लागि आवश्यक पर्ने ट्रान्समिसन लाइन निर्माणको लागि बोलपत्र आह्वानको अन्तिम तयारीको चरणमा छ’, उनले भने ।

    बिना रोकावट रुख कटान 

    बर्तमान अवस्थामा कुनै पनि आयोजना बनाउन मुख्य समस्या भनेको सरकारी वा सार्वजनिक जग्गा लिजमा लिन र उक्त जग्गामा रहेका रुख कटानको हो । हाल धेरै आयोजनाहरु रुख कटानको अनुमति नपाएर रोकिरहेका छन् । तर, मोदी कम्पनीले रुख कटानका लागि कुनै समस्या भोग्नु परेन । 
     
    ‘हाम्रो आयोजना अन्नपूर्ण संरक्षा क्षेत्र (एक्याप) भित्र पर्छ । हामीले यसलाई विशेष ध्यानमा राखेर सरकारी जग्गा भाडामा लिने, रुख कटानको अनुमति लिने कामका लागि सुरुवातदेखि नै ध्यानमा राखेका थियाैँ । हाम्रो  मुख्य ध्यान यसमै रहेका कारण बिना कुनै रोकावट, झन्भटपूर्ण रुपमा रुख काटनको अनुमति पाएर काम सुरु गरिसकेका छौं,’ उनले भने । 

    हाल २२३ रोपनी क्षेत्रको निजी जग्गाहरु आयोजनाले किनेर राष्ट्रिय निकुन्ज तथा  वन्यजन्तु वन्यजन्तु संरक्षण विभागलाई हस्तान्तरण गरिसकेको छ । विगत ४ वर्षको अवधिमा आयोजनाको निर्माण सुरु गर्नको लागि पुर्वतयारीका करिव सम्पुर्ण कार्यहरु गरिसकिएकोे उनले बताए । 

    १३ करोड रुपैयाँ लागतमा आयोजनाको विस्तृत इन्जिनियरिङर सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको जिम्मा स्वीजरल्याण्डको एएफ कन्सल्ट स्वीजरल्याण्ड, इटीको नेपाल र टीएमएस गरी ३ कम्पनीको जोइन्ट भेन्चरले पाएको थियो । 

    ‘म आयोजनामा गएपछि उक्त कम्पनीले अध्ययन प्रतिवेदन बुझायो । प्रतिवेदन हेर्दा आयोजनाका लागि एसेप्टेबल नै देखिएन । मेरै निर्देशनमा पुनः अध्ययन प्रतिवेदन बनाउन लगाएँ । करिब ६ महिनापछि उनीहरुले अध्ययन प्रतिवेदन बुझाएका थिए । कन्सल्टेन्टलाई रिवर्क गराएँ,’ अध्ययन प्रतिवेदन नै रिवर्क गर्नुपरेको विगत सम्झदै उनले भने ।

    आयोजनालाई इपीसी मोडलमा बनाउनका लागि टेन्डर आह्वानको तयारी थाल्न र आयोजनाको सुपरभिजनको कामका लागि नेपाल विद्युत प्राधिकरण अन्र्तगतको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीसँग सन् २०२२ मा सम्झौता भएको हो । उक्त सम्झौता अनुसार हाल इन्जिनियरिङको सम्पूर्ण काम सहायक कम्पनी मार्फत नै भैरहेको छ । 

    माथिल्लो मोदी ए सन् १९९७ सालमा सुरु भएको आयोजना हो । लामो समयदेखि निर्माणको तयारी थालिएतापनि कामले पूर्णता भने पाउन सकेको थिएन । सन् २००४ सालमा वातावरणीय प्रभाव (इआईए) मूल्यांकनमा पास भएको थियो । सन् २००४ मा भएको रुख कटान गर्नुपर्ने संख्या र सन् २०२४ मा भएको रुखको संख्या एकै बनाउनुपर्ने काम ठूलो चुनौती रहेको पौडेल बताउँछन् । 

    उक्त चुनौतीलाई पार गर्दै आयोजना यहाँसम्म आइपुुगेको उनको भनाइ छ । आयोजना निर्माणका लागि लगानीकर्ताको छनोट हुन नसक्दा ढिलाइ भएको उनले बताए । 

    यसअघि कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) बनाउने प्रस्ताव गरेको थियो । के वाटरलाई पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेको थियो । के वाटरपछि हटेपछि प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाएको हो । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । कुन मोडलमा आयोजना निर्माण गर्ने भन्ने छनोट समयमा नभएको उनले सुनाए । 

    कहिलेदेखि सुरु हुन्छ निर्माणको काम ?

    ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत आयोजना एसएससिइ हाइ हिमालय जेभीले निर्माण गरिरहेको छ । उक्त कम्पनीले पहिलो लटमा सिभिल संरचना निर्माण र हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानको जिम्मेवारी पाएको छ ।

    माथिल्लो मोदी ए निर्माण सुरु भएको एक वर्ष भैसकेको छ । जुलाई ६, २०२४ देखि आयोजना निर्माण कार्य भैरहेको छ । उक्त आयोजनामा हाल आवश्यक पर्ने सहायक सडक निर्माणको काम लगभग सकिएको छ भने ५ किलोमिटर सडक आयोजनाले विस्तार गरिसकेको छ । 

    सडकपछि निर्माणका लागि आवश्यक पर्ने क्याप, सुरक्षाका लागि आवश्यक पर्ने आर्मी क्याम र बन्ङकर निर्माणको काम लगभग सकिएको छ । अब छिट्टै ६ किलोमिटरको टनेल निर्माणको काम सुरु हुन्छ । अबको एक महिनाभित्र सुरुङ खन्ने काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ । 

    आयोजनाको प्याकेज–१ अन्र्तगत सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा निर्माण हुनेछ । पहिलो चरणका लागि साढे ५ अर्ब खर्च हुने देखिएको छ ।

    पहिलो प्याकेज अन्तर्गतको सिभिल तर्फको काम सुरु भएपनि ईलेक्ट्रोेमेकानिकलको ठेक्का रद्द भएको छ । ईलेक्ट्रोेमेकानिकल तर्फ ३ कम्पनी छनोट भएतापनि अन्तिममा ठेक्का प्रक्रिया नै रद्द भएको हो । पुनः टेन्डर आह्वानको तयारी सुरु भएको भन्दै अबको १५ दिनभित्र टेन्डर आह्वान हुने उनले बताए । 

    माथिल्लो मोदी निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाइड्रोमेकानिकल तर्फ कम्पनी छनोट हुन नसक्दा पावर हाउस निर्माण (खन्ने) को काममा केही ढिलाई हुनसक्ने उनले बताए । 

    यस्तै, माथिल्लो मोदी आयोजनामा इलेट्रोमेकानिकलका लागि टेन्डर आह्वानको चरणमा रहेको उनले बताए । प्राधिकरणले माथिल्लो मोदी ए का लागि सन् २०२८ को जेठमा र मंसिरमा तल्लो मोदी आयोजना सम्पन्न गर्ने समय दिएको छ । उक्त समयभित्रै निर्माणको सम्पूर्ण काम सक्नेगरी काम भैरहेको उनले बताए । 

    माथिल्लो आयोजनाको सुरुङको लम्बाइ ६ र तल्लोको ४ किलोमिटर हुनेछ । दुवैको विद्युतगृह संरचना सतहमा हुने प्रस्ताव गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ११ किलोमिटर लामो प्रसारण लाइन हुँदै विद्युत प्राधिकरणले प्रस्ताव गरेको १३२ केभी न्यू मोदी सब–स्टेसनमा जोडिनेछ । माथिल्लो आयोजनाको हेड २८६ र तल्लोको १३५ मिटर रहेको छ । 

    साढे १५ अर्ब लगानी 

    माथिल्लो मोदी ए आयोजनामा एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले (एचआइडिसिएल) सहवित्तीयकरण मार्फत ऋण लगानी भएको छ । बैंक तथा एचआइडिसिएलले निर्माण अवधिको ब्याजसहित ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन् । कुल ऋणमध्ये एनएमबी बैंकको ४ अर्ब ४० करोड र एचआइडिसिएलको ३ अर्ब रुपैयाँ ऋण लगानी रहने भएको छ ।

    निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ । 

    त्यस्तै माथिल्लो मोदी आयोजनामा करिब ५ अर्व लगानी रहेकोमा माथि उल्लेखित बैंक तथा बित्तिय संस्थाले कुल लागतको करिव ६० प्रतिशत ऋण लगानी गर्नेछन । 

    सीएनएन खबरले प्रकाशन गरेको म्यागेजिनमा प्रकाशीत 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend