काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा निर्माण गरिएको माथिल्लो दोर्दी ए आयोजना अहिले राष्ट्रिय प्रशारण लाइनमा जोडिसकेको छ । २५ मेगावाट क्षमताको उक्त आयोजनाबाट अहिले तोकिएकै क्षमतामा विद्युत समेत उत्पादन हुँदै आएको छ । रन अफ द रिभरमा आधारित उक्त आयोजनाले २०७१ बैशाख १५ मा विद्युत उत्पादन अनुमति पाएको थियो । निर्माण सुरु भएको ४ वर्षभित्र उत्पादनमा आउनेगरी काम सुरु गरेको उक्त आयोजनाले निर्माणका चरणमा विभिन्न समस्याको सामना गर्नुपर्याे ।
निर्माणको काम सुरु गरेको केही समयमै २०७२ बैशाख १२ मा गएको भूकम्पको सापना गरेको उक्त आयोजनाले त्यसपछि भारतको अघोषित नाकाबन्दी, दुई पटक बाढीको सामनादेखि राष्ट्रिय प्रशारण लाइन नहुँदा उत्पादित बिजुली समेत खेर जाने अवस्था बन्यो । समयमा प्रशारण लाइन निर्माण नहुँदा, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा दुई पटक बाढीपहिरोका कारण उत्पादन तालिका धकलिँदै आएको थियो ।
माथिल्लो दोर्दी ‘ए’ आयोजनाका आयोजना निर्देशक राजेन्द्र वस्ती यी सबै समस्यालाई झेल्दै बिुजली उत्पादनमा ल्याउन धेरै कठिनाइ भोग्नुपरेको बताउँछन् । ‘हाम्रो आयोजना सुरुवाती चरणदेखि नै विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आउन सफल भयो । सामान्यतया दुई पटक बाढी पसेको आयोजना उठेर बिद्युत उत्पादन गर्नु आफैमा ठूलो चुनौती हो । अहिलेसम्म दुई पटक बाढी पसेका आयोजनाहरु कमै संख्यामा निर्माण सम्पन्न भएका छन्, हामीले निकै मेहनत गरेर आयोजना सम्पन्न गर्न सफल भयौँ’, उनले विगत सम्झदै भने ।
२०७१ सालमा निर्माणको सुरुवात भएको आयोजनाको सुरुवाती चरणमा २०७२ बैशाख १२ गते गएको भूकम्पले असर गर्याे । टनेलको निर्माण भरखर सुरु हुँदै गर्दा भूकम्पका कारण ४ महिनाजति ढिलाई भयो । भूकम्पपछि रोकिएको काम पुनः सुरु भैरहेको अवस्थामा ७२ कै असोजमा भारतको अघोषित नाकाबन्दी भयो । नाकाबन्दीमा आयोजनाका लागि आवश्यक उपकरण रोकिए भने डिजेल पेट्रोलको समेत अभाव हुँदा निर्माणका सम्पूर्ण काम रोकिएका थिए ।
भूकम्प र भारतीय नाकाबन्दीलाई पार गर्दै २०७६ सालमा आयोजना निर्माणका अधिंकाश कामहरु सम्पन्न भयो । निर्माणको अन्तिम चरणमा रहेको उक्त आयोजनामा पुनः बाढी पस्यो । २०७६ को साउन ८ गते दोर्दी खोलामा आएको बाढीका कारण उक्त आयोजनामा मानवियसँगै ठूलो रुपमा भौतिक क्षतिको सामना गर्नुपरेको थियो । २०७६ को कात्तिक महिनादेखि उत्पादन थालनी गर्ने तयारी गरेको आयोजनामा साउनमा आएको बाढीले ठूलो असर गरेको थियो ।
दोर्दी खोलामा एक्कासी आएको बाढीले विद्युत उत्पादनको मितिलाई पर मात्र धकेलेन, करोडौँको भौतिक र मानवीय क्षति भएको सञ्चालक वस्ती बताउँछन् । आयोजनाको निरीक्षण गरेर फर्किएको १ घण्टामै २०७६ को भदौमा दिउँसै आएको बाढी आयोजनामै पसेको थियो । ‘बाढी पनि यति ठूलो आयो कि हाम्रो डिस्यान्डरमा काम गर्दै गरेका ५०/५२ जना कामदारलाई नै बगायो । १० जना कामदारहरुलाई बगायो भने अन्यको हामीले समयमै उद्दार गर्न सक्यौँ’, उनले भने, ‘१० जनामध्ये ६ जनाको शव भेटियो भने ४ जनाको शव समेत भेट्न सकिएन । दिउँसै आएको बाढीबाट निर्माणको अन्तिम चरणमा पुगेको आयोजना नराम्रोसँग प्रभावित बन्यो ।’
अन्तिम चरणमा पुगेको आयोजनामा अकस्मात क्षति हुँदा लगानीकर्ताहरु धेरै निराश बनेका थिए । लगानीकर्तासँगै बैंक तथा वित्तीय संस्थाले समेत बाढीले हानेको आयोजना भनेर हेर्ने नजरमा परिवर्तन भएको उनले बताए । सञ्चालक तथा लगानीकर्ताले व्यक्तिगत रुपमा ऋण खोजेर बाढी पसेको आयोजना पुनः निर्माण गर्न थाले ।
सञ्चालकले आफै काम गर्न थालेपछि बैंकले समेत सहयोग गरेको उनले सुनाए । ‘७६ भदौँको बाढीले असर गरेको काम सकेर पुनः उत्पादनको तयारी भैरहदा पुनः २०७७ को बाढीले आयोजना सबै पुरेको थियो । ‘बाढीले आयोजना सबै पुर्दा कुनै संरचना नै देखिएको थिएन । एकै आयोजनामा दुई पटक बाढीले असर गर्दा हामीलाई त्यतिबेला धेरै असर परेको थियो । बोर्ड र सञ्चालक समितिका केही साथीहरु आयोजनाकै कारण अस्पतालमै भर्ना हुनुपर्ने अवस्था बनेको थियो । हामीले बाढीले गरेको असर पन्छाएर पुनः विद्युत उत्पादन योग्य बनाउनुपर्ने थियो । ठूलो लगानी भैसकेको थियो, हामी यत्तिकै पछि हट्ने अवस्था थिएन । हामीले आयोजनाका लागि पुनः बैंकमा अनुरोध गरेका थियौँ । तर पटक/पटक बाढीले असर गरेको आयोजना भनेर बैंकहरु लगानीबाट पछि हट्न थाले’, उनले भने ।
बैंकले लगानी गर्न डराएपछि आफूले जिल्लामा रहेका साधनहरु मागेर बाढी पन्छाउने काम सुरु गरेको वस्ती बताउँछन् । जिल्लाबासी भएकै कारण जिल्लाका व्यापारी तथा अन्य व्यक्तिहरुसँग उधारोमा स्रोतसाधन मागेर ३ महिनामा बाढी पन्छाएको विगत उनले सुनाए ।
पहिरो पन्छाएपछि भित्रको संरचनामा कुनै असर नगरेको पाएपछि बैंकले थप लगानी गरेर निर्माण सम्पन्न गरिएको थियो । बैंकको ऋण तथा सञ्चालकले थप लगानीबाट आयोजना सम्पन्न भएको छ । निर्माण सम्पन्न भएर २०७९ सालको असोजमा परीक्षण उत्पादन भैसकेको थियो । तर, ट्रान्समिसन राष्ट्रिय प्रशारणलाइन नपुग्दा केही समय यतिकै बिजुली खेर फाल्नुपरेको थियो । उत्पादन भैरहेपनि बिजुली पठाउन नसक्दा ३५ करोड रुपैयाँभन्दा बढीको बिजुली खेर समेत गयो ।
भूकम्प, भारतीय नाकाबन्दी, दुई पटकको बाढी र केही समय उत्पादीत बिजुली खेर फालेर हाल राष्ट्रिय प्रशारण लाइनमा जोडिएको उक्त आयोजनाबाट हाल सुख्खा समयमा ११० प्रतिशतसम्म उत्पादन हुन थालेको छ । कतिपय आयोजनालाई ८० प्रतिशत पुर्याउन नसक्दा जरिवानामा पर्छन, हाम्रोबाट नेपाल विद्युत प्राधिकरणले तोकिदिएको सीमाभन्दा बढी उत्पादन भएको छ ।
‘अहिले हाम्रो आयोजनाको उत्पादन एकदमै राम्रो छ । हाम्रो प्लान्ट हेर्न जाने जोकोहीपनि साच्चैनै सञ्चालकले मेहनत गरेको रैछ भनेर फर्कनुभएको छ । हामीले आयोजना बनाउँदै गर्दा स्थानीय जनताका लागि गर्नुपर्ने दायित्व समेत सबै पूरा गरेका थियौँ’, उनले भने ।
सुरुमा ३ अर्ब ९६ करोडमा डिजाइन भएको आयोजना निर्माण सम्पन्न हुँदा झन्डै ६ अर्ब लागेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंकले लगानी गरेको उक्त आयोजनामा ७० प्रतिशत बैंक कर्जा र ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी (इक्विटी) छ । विद्युत उत्पादनमा आएपछि बैंकको ऋण विस्तारै चुक्ता हुँदै गएको उनले बताए । तोकिएकै समयमा निर्माण सम्पन्न नहुँदा बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज रकम थपिएको र बाढीका कारण आयोजना नै ३ वर्ष धकेलिँदा कम्पनीले अर्बौं नोक्सानी खेप्नुपरेको उनको भनाइ छ ।
‘हामीले यो आयोजनामा धेरै आरोह अवरोह बेहोर्यौं । सञ्चालकबीचको सुमधुर सम्बन्ध र बैंक तथा वित्तीय संस्थाको सहयोगमा हामीले यो आयोजना पूरा गर्न सफल भयौँ । स–सानो समस्याले पनि अन्य आयोजनाका सञ्चालकहरुले आयोजना माथि उठ्न नसक्केको देखेका हामीले यो काम निकै चुनौतीका साथ सम्पन्न गर्न सफल भयौँ’, उनले भने ।

