काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय हवाई नीति २०८२ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ ।
करिब १९ वर्ष पुरानो (२०६३ सालमा बनेको) हवाई नीतिको खारेजी गर्दै हालको परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, प्रविधिको विकास, संघीय शासन प्रणाली र नागरिक उड्डयन क्षेत्रमा देखिएका अवसर तथा चुनौतीहरूलाई समेट्दै तयार गरिएको बताइएको छ ।
उक्त नीतिमा निजी प्रयोजनका लागि कुनै व्यक्ति वा संस्थालाई वायुसेवा सञ्चालन गर्न अनुमति दिने व्यवस्था गर्ने भएको छ । यो व्यवस्थापछि नेपालमा पहिलोपटक व्यक्तिगत प्रयोजनका लागि जहाज राखेर उडान गर्न पाइन्छ । हाल व्यवसायिक प्रयोजनका लागि मात्रै नेपालमा हवाई जहाज तथा हेलिकप्टर सेवा सञ्चालन गर्न पाइने व्यवस्था छ ।
नेपालमा पनि नयाँ हवाई नीतिले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसाथ गर्दै क्षमता र रुची हुनेले आफ्नै जहाज राख्न र पाउने छन् । यो व्यवस्थापछि व्यापारी, उद्योगी, कलाकारदेखि विभिन्न पेशा र व्यवासायमा व्यस्त भइरहनेहरुले जहाज खरिद गरेर राख्रन सक्ने क्षमता देखाए पाउँछन् ।
यस्तै, १५ वर्षभन्दा पुराना प्रेसराइज्ड विमान आयात गर्न नदिने नीति लिएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार अब कुनै पनि प्रेसराइज्ड विमान १५ वर्षभन्दा पुरानो भएमा वा आर्थिक डिजाइन आयुको ५० प्रतिशतभन्दा बढी सकिएको भएमा, वा ३५ हजार प्रेसराइजेसन साइकल पार गरेको भएमा, त्यस्ता विमानको आयात निषेध गरिने नीतिमा उल्लेख छ ।
यस्तै, नन–प्रेसराइज्ड विमानको हकमा २० वर्षभन्दा पुराना विमानहरू आयात गर्न अनुमति नदिने भनिएको छ । यो व्यवस्था नयाँ हवाई नीति २०८२ अन्तर्गत लागू गरिने प्रष्ट पारिएको छ ।
विमान सुरक्षाका मापदण्ड कडा बनाउने सरकारी नीतिअनुसार, पुराना विमानको प्रयोगले सुरक्षा जोखिम बढाउने भएकाले यस्तो प्रावधान ल्याइएको हो । यो निर्णयसँगै नेपालमा जहाज आयात गर्ने कम्पनी तथा एयरलाइन्सले भविष्यमा नयाँ र कम साइकल भएका विमानको छनोट गर्नुपर्ने छ ।

