काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएका जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले कानुनी विवाह गरेका छन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा अदालती (कोर्ट) विवाह गरेर वैवाहिक सम्बन्धलाई औपचारिक बनाएका हुन्।
विवाहपछि दुवैले आफ्नो कोर्ट म्यारिजको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। एलिजेले तस्बिरसँगै लेखेकी छिन् – “उनीहरूले हामीलाई अनलाइन खोजे, तर हामीले त हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एण्ड मिसेस।”
यो पोस्ट सार्वजनिक भएपछि उनीहरूलाई सामाजिक सञ्जालमा बधाइ र शुभकामनाको ओइरो लागेको छ। यी दुईले २०८० साल असोज १९ गते दुबईमा इन्गेजमेन्ट गरेका थिए। त्यसको भिडियो क्लिप्सहरू टिकटकमा निकै भाइरल भएका थिए। इन्गेजमेन्टको जानकारी पनि उनीहरूले आफ्नै सामाजिक सञ्जालमार्फत दिएका थिए।
एलिजे पाकिस्तानी नागरिक हुन् भने आयुष नेपाली युवा। उनीहरूको भेट टिकटक लाइभ मार्फत भएको थियो। त्यसैबेला देखिनै यी दुई प्रेममा बाँधिएका थिए। प्रारम्भिक दिनदेखि नै उनीहरूको अन्तर्राष्ट्रिय प्रेम सम्बन्ध दर्शकबीच चासोको विषय बनिरहेको थियो। एलिजे विगतमा दुबईमा बस्दै आएकी थिइन्, तर अब विवाहपछि उनी आयुषसँगै नेपालमा बस्ने भएकी छन्।

