काठमाडौँ । लमजुङको बेंसीसहर नगरपालिकामा सञ्चालित सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाको साढे ६ करोड बढी रकम हिनामिना भएको पाइएको छ । सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गरेको अध्ययनका क्रममा उक्त सहकारीका सञ्चालकको मिलोमतोमा बचतकर्ताको ६ करोड ५४ लाख रुपैयाँ हिनामिना भएको पाइएको हो ।
सहकारी रजिस्ट्रारको अध्ययन अनुसार हाल सहकारीका १७ जना सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सहकारीका अध्यक्ष ऋषिराज अधिकारी, तत्कालीन व्यवस्थापक तथा लेखा समितिका अध्यक्ष पदम बहादुर रावत र उपाध्यक्ष अरुणकान्त घिमिरे लगायत १७ जना विरुद्ध साउन ५ गते नै जिल्ला अदालत लमजुङले पक्राउको अनुमति दिइसकेको छ ।
अदालतले पक्राउको अनुमति दिएको १५ दिन बितिसक्दा समेत अभियुक्तहरु कानूनी दायरामा पर्न सकेका छैनन् । उक्त सहकारीको सकम उपचलन गरेको भन्दै पक्राउ पूर्जी जारी भएकामध्ये अधिकांश बेसिँसहर आशपासका हुन् । तीमध्ये केही नेता, केही व्यवसायी तथा केही सामाजिक क्षेत्रमा नाम चलेका व्यक्तिहरु समेत हुन् ।
अदालतबाट पूर्जी जारी भएको आधि महिना बितिसक्दा समेत उनीहरु कानूनी दायरामा आउन नसक्दा बचतकर्ताहरु आफूले जम्मा गरेको बचत रकम फिर्ता नपाउने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् । लामो समयदेखि रकम फिर्ता नपाएका बर्चतकर्ताहरु सहकारी ठगहरु खुलेआम हिड्दा असुरक्षित हुन थालेको बताउन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेमश बोहरा अदालतबाट पक्राउ पूर्जी आइसकेको भन्दै पक्रियामा रहेको बताउँछन् । सहकारीको रकम उपचलन प्रकरणमा मुछिएका विरुद्ध कानुनी कारवाहीको तयारी भएको भन्दै उनले कानुन अनुसार कारबाही हुने बताए ।
‘बचतकर्ताको करोडौ रकम उपचलन भएको छ । अपचलन गरेको भन्दै सहकारीका सञ्चालक विरुद्ध अदालतले पक्राउको अनुमति दिइसकेको छ । हामी यो त्यो भन्दैनौँ कानुन अनुसार कारबाही अगाडी बढाउँछाँँ’, उनले भने ।
उनले अहिले बचतकर्ताले रकम फिर्ता पाउन थालेको भन्ने कुराहरु समेत आउन थालेपछि केही समय होल्ड गरिएको बताए ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराका प्रमुख भेषराज रिजालका अनुसार सहकारीका सञ्चालक समितिले भारतीय नागरिकलाई समेत २५ लाख ऋण लगानी गरेको थियो ।
सहकारी कार्यालयले ०८१ असोज २९ गते नै छानबिन सकेको थियो । सहकारी कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई खटाएर निकालेको प्रतिवेदनले ६ करोड ५४ लाख रकम हिनामिना गरेको ठहर गरेको हो ।
रजिस्ट्रारको कार्यालयले गत असार १९ गते सहकारी ठगीको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । त्यसको १७ दिनपछि प्रहरीले साउन ४ गते मुद्दा दर्ता गरेको छ । तीन वर्षअघि संस्थाका अध्यक्ष भएका ऋषि अधिकारीले नै निवेदन दिएर छानबिन गर्न भनेपछि छानबिन थालिएको सहकारी डिभिजन कार्यालयले जानकारी दिएको छ ।
अध्यक्ष ऋषि अधिकारीले आफू आउनुभन्दा अघि नै सहकारी संस्था समस्याग्रस्त भएपछि गत असोजमा आफैंले डिभिजन सहकारी कार्यालयमा अनुसन्धान गर्न लिखित उजुरी दिएको बताए ।
‘साढे २ करोड बराबरको बचत हो । सानो लगानीको सहकारीमा वितरण गरिएको साढे ४ करोड ऋण लगानीलाई जोड्दा ६ करोड बढी देखिएको हो । सहकारीमा समस्या देखिएपछि अहिले हामीले सेटलमेन्ट गरिरहेका छौँ । अब लगभग १ करोड जति मात्रै वितरण गर्न बाँकी छ’, अध्यक्ष अधिकारीले भने ।
उनले आफू आउनभन्दा अघिकै पदाधिकारीले गरेको गल्तीका कारण सहकारी समस्या आएको बताए । उनले पूर्वअध्यक्ष तथा पदाधिकारीले गल्ती गर्दा त्यसलाई मिलाउन लागिपरेको आफू विरुद्ध नै पक्राउ पूर्जी जारी भएको समेत बताए ।
‘पूर्जी जारी भएको छ । अहिले सक्ने सेटलमेन्ट गरिरहेको छु, पूर्व पदाधिकारी कसैले सपोट गर्नुभएको छैन्, उहाँहरुको गल्ती मैले भोग्नुपर्ने कस्तो नियति आयो’, उनले प्रश्न गर्दै भने ।
तत्कालीन अध्यक्षहरू शिव जोशी, हरि पौडेल, पदम राउतको कार्यकालमा लगानी गरेको रकम नउठेका कारण संस्था समस्या देखिएको अधिकारीले दाबी गरे । तत्कालीन अध्यक्षहरू पदम राउत, शिव जोशीको कार्यकालमा ’भारतीय नागरिकलाई लगानी गरेको रकम तिर्नू र उताबाट उठेपछि रकम फिर्ता लिनू’ भनेर निर्देशन दिइएको छ । दुवैले असार मसान्तसम्म ७ लाख ५० हजार रकम बुझाइसकेका छन् ।
वडाअध्यक्षदेखि लेखनदास विरुद्ध पक्राउ पूर्जी
सहकारीको बचत हिनामिना गरी पक्राउ पूर्जी जारी हुँनेमा वडाअध्यक्षदेखि लेखनदास समेत परेका छन् । सहकारीका अध्यक्ष अधिकारी, तत्कालीन व्यवस्थापक तथा लेखा समितिका अध्यक्ष पदम बहादुर रावत र उपाध्यक्ष अरुणकान्त घिमिरे विरुद्ध साउन ५ गते नै जिल्ला अदालत लमजुङले पक्राउको अनुमति दिइसकेको छ ।
यस्तैगरी, सहकारीका सचिव शंकर न्यौपाने, तत्कालिन कोषाध्यक्ष किसोर कुमार बस्नेत, सञ्चालक समितिका सदस्य ऋषीराज दवाडी, लक्ष्मी थापा, गौतम सिलुुवाल क्षेत्री र शिव कुमार श्रेष्ठ विरुद्ध समेत पूर्जी जारी भैसकेको छ ।
पक्राउ पूर्जी जारी हुनेहरुमध्ये पदम बहादुर रावत पेशाले शिक्षक हुन भने, शिव कुमार श्रेष्ठ र शंकर न्यौपाने लेखनदास हुुन् ।
यस्तैगरी, सञ्चालक राधिका पौडेल, पूर्व अध्यक्ष हरी प्रसाद पौडेल, सम्सेर बहादुर लौडारी, थकित प्रसाद अधिकारी, विजेन्द्र थापा, अमृत सापकोटा, चिन वहादुर विक र सहकारीका व्यवस्थापक रविन रावत रहेका छन् । उनीहरुमध्ये अमृृत सापकोटा हाल विदेशमा रहेका छन्् भने विजेन्द्र थापा सुन्दरबजार नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष समेत हुन् ।

