दशैंको फूलपातीलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘बलिदान’ले आफ्नो प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। निर्माण टिमले आज (बुधबार) फिल्मका थप चार महत्त्वपूर्ण पात्रहरूको क्यारेक्टर पोस्टर अनावरण गरेको हो।
भर्खरै सार्वजनिक पोस्टरहरूमा अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, कलाकार हेमन्त वुढाथोकी र स्वयं निर्देशक सन्तोष सेनलाई प्रस्तुत गरिएको छ। विशेषगरी, निर्देशक सेन र नकारात्मक भूमिकामा देखिनसक्ने हेमन्तको लुक्सले दर्शकमाझ विशेष कौतूहलता र सरप्राइज पैदा गरेको छ।
निर्देशक सेनका अनुसार, यी पात्रहरू कथाका लुकेका तर शक्तिशाली आवाज हुन् जसले समाजको यथार्थलाई चित्रण गर्छन्। टिजर ल्याउनुअघि यी गहिरो प्रभाव पार्ने पात्रहरूलाई दर्शकमाझ चिनाउन खोजिएको उनले बताए।
यसअघि, फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, समीर भट्ट र कविता रायको पोस्टरले पनि चर्चा बटुलिसकेको थियो। आसुसेन फिल्मस् प्रा.लि. को ब्यानरमा पवन ब्राडफोर्डको लगानी र प्रेम पुरीको कार्यकारी निर्माण रहेको यो चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापारिक सुरुवात गर्ने अपेक्षा गरिएको छ।

