यस वर्षको दशैंमा नेपाली दर्शकले मनोरञ्जनको विविध स्वाद चाख्न पाउने भएका छन्। फूलपातीको अवसर पारेर तीन फरक विधाका बहुप्रतिक्षित चलचित्रहरू ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ एकसाथ प्रदर्शनमा आउने घोषणाले बक्स अफिसमा रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
‘हरिबहादुरको जुत्ता’ - हाँस्यको खुराक हाँस्य विधामा दर्शकलाई मनोरञ्जन दिन दीपेन्द्र के खनालको निर्देशनमा ‘हरिबहादुरको जुत्ता’ तयार भएको छ। चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आचार्यसँगै प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियङ्का कार्की जस्ता चर्चित कलाकारहरूको जमघट छ।
‘बलिदान’ - एक्सनको धमाका यसैगरी, एक्सन मन पराउने दर्शकका लागि सन्तोष सेन निर्देशित ‘बलिदान’ प्रदर्शनमा आउँदैछ। आसुसेन फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्टलाई मुख्य भूमिकामा देख्न सकिनेछ।
‘माइतीघर’ - सामाजिक र सांस्कृतिक कथा यी दुईभन्दा फरक, ‘माइतीघर’ले सामाजिक तथा सांस्कृतिक कथावस्तु पस्कनेछ। रोहित अधिकारीको प्रस्तुति र मिलन तामाङको निर्देशनमा बनेको यो चलचित्रले तामाङ संस्कृतिको कथालाई विशेष रूपमा उठाएको छ, जसमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी जस्ता कलाकारहरूको अभिनय रहेको छ।
गत वर्षको दशैंमा पनि तीन चलचित्र भिड्दा दुईले सफलता पाएका थिए। यो वर्ष फरक-फरक स्वादका चलचित्र एकसाथ आउँदा दर्शकले कुनलाई रोज्छन् र कसको व्यापार कस्तो रहला भन्ने कुराले चलचित्र वृत्तमा कौतूहलता बढाएको छ।

