नेपाली चलचित्र क्षेत्रमा एउटा सफल फिल्म जन्माउने टिमको सहयात्रा लामो समय टिक्न नसक्ने प्रवृत्ति बढ्दो छ। सफलताको स्वाद चाखेपछि देखिने मतभेद र महत्वकांक्षाका कारण बलिया टिमहरू टुक्रिने र तिनै सदस्यहरू एक-अर्काका प्रतिस्पर्धी बनेर नयाँ फिल्म निर्माणमा होमिने क्रम पछिल्लो समय बाक्लिएको छ।
यसको सबैभन्दा पछिल्लो उदाहरण ‘पूर्ण बहादुरको सारङ्गी’ को टिममा देखिएको छ। कुनै समय सेभेन सिज कम्पनीमार्फत् एकढिक्का रहेको यो टिम अहिले तीन टुक्रामा विभाजित भएको छ। फिल्मका एक निर्माता प्याट्रिक सुवेदी ‘चुल्हे निम्तो’ लिएर आउँदैछन् भने अर्का निर्माता विनोद पौडेलको टिमले ‘अभिमन्यु’ निर्माण गरेको छ। यता, ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशकले पनि ‘कोशेढुंगा’ नामक फिल्म तयार पारेका छन्। एउटै टिमबाट छुट्टिएका यी तीन फिल्मको व्यापारिक भविष्यलाई उत्सुकतापूर्वक हेरिएको छ।
यस्तै कथा ‘सक्किगोनी’ को टिमबाट निर्माण भएको फिल्म ‘लाज शरणम्’ मा पनि दोहोरिएको छ। फिल्मको स्क्रिप्ट लेखनसम्म एकसाथ रहेका कुमार कट्टेल, अर्जुन घिमिरे र दीपक प्रसाद आचार्यबीच पछि मतभेद देखियो। परिणाम स्वरूप, दीपकले ‘परान’ नामक फिल्म निर्देशन गरिसकेका छन् भने अर्जुन ‘झरी पछिको इन्द्रेणी’ निर्देशनमा व्यस्त छन्। कुमार कट्टेल पनि नयाँ फिल्मको तयारीमा छन्।
कुनै बेला एउटै टिममा रहेर काम गर्ने सदस्यहरूबीचको विभाजनको यो शृङ्खला नयाँ भने होइन। यसअघि दीपकराज गिरीको सफल टिमबाट सीताराम कट्टेल (धुर्मुस) छुट्टिएर ‘सेन्टी भाइरस’ बनाएका थिए। बलियो सहकार्यले उत्कृष्ट नतिजा दिइरहेको अवस्थामा टिम फुट्दा अन्ततः दर्शकले नै नयाँ प्रतिस्पर्धाहरू हेर्न पाउँछन्, तर एउटा शक्तिशाली टिमले दिनसक्ने सम्भावित अर्को उत्कृष्ट सिर्जना भने गुम्ने गर्छ।

