काठमाडौं, साउन २३
बहुप्रतिक्षित नेपाली चलचित्र ‘माग्ने राजा’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढो’ को शीर्ष भूमिका रहेको यस चलचित्रको ट्रेलर OSR Digital को आधिकारिक युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा एक साधारण मानिसबाट अकस्मात ‘राजा’ बनेका केदार घिमिरेको चरित्रको उतारचढाव र विलासी जीवनशैलीलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ। ट्रेलर हेर्दा चलचित्र कमेडी, ड्रामा र एक्सनको पूर्ण प्याकेज हुने अनुमान लगाउन सकिन्छ। केदार घिमिरेको बेजोड हाँस्यकलासँगै उनको गम्भीर अभिनयको झलकले दर्शकमाझ कौतुहलता बढाएको छ।
चलचित्रमा केदारको साथमा नायिका वर्षा सिवाकोटीको सशक्त उपस्थिति देखिन्छ। उनीहरु बीचको अनस्क्रिन केमेस्ट्रीलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ। यसका साथै, चलचित्रमा बुद्धि तामाङ (हैट), रवि गिरी, राजाराम पौडेल लगायतका कलाकारहरूको पनि महत्त्वपूर्ण अभिनय रहेको छ।
ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रलाई मधुसूदन शर्माले निर्माण गरेका हुन् भने कथा समीPयराज तिमल्सेनाले लेखेका हुन्। ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रलाई लिएर सकारात्मक चर्चा सुरु भएको छ।
चलचित्र यही आउँदो भदौ ६ गते (अगस्ट २२) बाट देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

