चर्चित फिल्मी कार्यक्रम ‘रजतपट’का सञ्चालक प्रकाश सुवेदीमाथि गम्भीर व्यावसायिक आरोप लागेको छ। गत वर्षको ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले सुवेदीमाथि प्रचारका लागि पैसा ‘बार्गेनिङ’ गर्ने र नदिएमा फिल्मकर्मीको चरित्रहत्या गर्ने गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएका हुन्।
निर्माता पौडेलका अनुसार, उनको नयाँ फिल्म ‘अभिमन्यु’ को प्रचारका लागि ‘रजतपट’को टिमले पैसा मागेको थियो। आफूले पैसा दिन अस्वीकार गरेपछि सुवेदीले प्रतिशोध साँध्न कार्यक्रमको पछिल्लो एपिसोडमा आफूविरुद्ध रिपोर्ट बनाएको पौडेलको दाबी छ।
पौडेलले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “धेरैजना यस्तो विषयमा डराएर चुप लाग्नुहुन्छ, किनकि भोलि फिल्मको बारेमा नराम्रो भनिदेला भन्ने डर हुन्छ। तर मलाई मतलब छैन।”
उनले आफ्नो ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले पैसा नदिइकनै सफलता पाएको उदाहरण दिँदै सुवेदीको कार्यक्रममा प्रचार गरेकै भरमा फिल्म हिट नहुने तर्क गरेका छन्। “आफ्नो फिल्मको मार्केटिङ मैले आफ्नो हिसाबले गर्न नपाउने? के तपाईंको कार्यक्रममा मार्केटिङ गर्नु अनिवार्य हो?” भन्दै पौडेलले प्रश्न गरेका छन्।
यो घटनाले नेपाली फिल्म उद्योगमा पत्रकारिता र प्रचारप्रसारको नाममा हुने अपारदर्शी आर्थिक लेनदेन र शक्तिको दुरुपयोगबारेको बहसलाई पुनः सतहमा ल्याइदिएको छ। निर्माता पौडेलले लगाएको यो गम्भीर आरोपबारे ‘रजतपट’ सञ्चालक सुवेदीको प्रतिक्रिया आउन भने बाँकी छ।

