काठमाडौँ: अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको आगामी फिल्म 'पार्वती' को दुईवटा पोस्टर रिलिज भएको छ। रक्षा बन्धनको अवसर पारेर सार्वजनिक गरिएको यी पोस्टरका साथै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। यो फिल्म आगामी माघ १ गतेबाट प्रदर्शनमा आउनेछ।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई नीताले नै निर्देशन गरेकी हुन्। सार्वजनिक पोस्टरमा उनलाई दुई फरक अवतारमा देखाइएको छ। पहिलो पोस्टरमा उनी पहेँलो छाता बोकेर, सिठ्ठी र पानीको बोतल लिई गम्भीर मुद्रामा छिन् भने दोस्रो पोस्टरमा उनी गाउँले पोसाकमा लजालु र मुस्कुराएको भावमा देखिएकी छिन्। यी पोस्टरले फिल्ममा नीताको चरित्र बहुआयामिक भएको संकेत गर्छ।
फिल्मको कथा स्वयं नीताले लेखेकी हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले तयार पारेका छन्। कविरलाल र शाहिदलालले छायांकन गर्ने यो फिल्मले हाँस्य, भावना र सामाजिक सन्देशको मिश्रण प्रस्तुत गर्ने बताइएको छ। फिल्मको छायांकन असोजबाट सुरु हुनेछ।
'पार्वती'को रिलिजपश्चात् नीताले आफ्नो अर्को प्रोजेक्ट 'सुख-दुःख' को छायांकन सुरु गर्नेछिन्।

