अर्जुन सुवेदीको निर्देशनमा बनेको फिल्म 'सोल्टिनी' को रिलिज मिति सरेको छ। यो फिल्म अब तिहारको भाइटिकाको दिन बाट प्रदर्शनमा आउने पक्का भएको छ। पहिले यो फिल्म असोज ३ गते रिलिज हुने भनिएको थियो। यद्यपि, निर्माण पक्षले यस विषयमा औपचारिक जानकारी भने दिएको छैन।
प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य भूमिका रहेको यो फिल्मले अन्तरजातीय प्रेम कथालाई प्रस्तुत गर्नेछ। फिल्मको एउटा गीत सार्वजनिक भैसकेको छ। इलाममा छायांकन गरिएको यस फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायतका कलाकारहरूको पनि अभिनय छ।
फिल्ममा सुशन प्रजापतिको छायांकन र प्रशान्त सिवाकोटी तथा हर्कुलस बस्नेतको संगीत रहेको छ। रेजिना विष्ट र संसार चौलागाईंको लगानीमा तयार भएको यो फिल्मलाई प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।

