आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को प्रचार प्रसार मुख्य कलाकारबिना नै सुरु भएको छ। चलचित्रको टिमले गत शनिबार ३१औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित र्यालीमा ‘रिमै’ लेखिएका टिसर्ट लगाएर आफ्नो उपस्थिति जनाएको थियो। यस क्रममा निर्देशक खिलबहादुर गुरुङले चलचित्रले आदिवासी समुदायको कथालाई पर्दामा उतारेको बताएका थिए।
तर, चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, अर्पन थापा, रिश्मा गुरुङलगायतका कलाकारहरू भने प्रचारमा देखिएका छैनन्। यसको मुख्य कारण पारिश्रमिकको विवाद रहेको बुझिएको छ। निर्माण टिमले प्राविधिक र कलाकारहरूलाई दिनुपर्ने पारिश्रमिक पूर्णरूपमा नतिरेको बताइएको छ। यसै कारण दयाहाङ राई र पटकथा लेखक उपेन्द्र सुब्बाले चलचित्रको पोस्टर र टिजर समेत सामाजिक सञ्जालमा सेयर गरेका छैनन्।
निर्माता वीरबल गुरुङले बाँकी रकम चाँडै तिर्ने बताएका छन्। तर, दयाहाङले भने सबैको पारिश्रमिक चुक्ता नभएसम्म प्रचारमा सहभागी नहुने अडान लिएका छन्। यो अडानका कारण ‘रिमै’को निर्माण टिमलाई प्रचारमा असहज भएको छ।
यता, दयाहाङ र उपेन्द्रले हालै सार्वजनिक भएको ‘जारी २’ को टिजर भने सेयर गरिसकेका छन्। ‘जारी २’ असोज ३ गते र ‘रिमै’ भदौ २० गते प्रदर्शन हुँदैछ। दयाहाङको सर्त पूरा भएपछि मात्रै उनी प्रचारमा लाग्ने देखिन्छ।

