मनोरञ्जन क्षेत्रका दुई लोकप्रिय कलाकार केदार घिमिरे (माग्नेबुढा) र दीपकराज गिरी बीचको मित्रता र सम्मान सामाजिक सञ्जालमा चर्चामा छ। घिमिरेले आफ्नो पछिल्लो पोस्टमा गिरीको खुलेर प्रशंसा गर्दै भनेका छन्, "जसको कोही छैन, उसको दीपकराज गिरी छ।"
आफूलाई विवादबाट टाढा रहन सल्लाह दिइएको र आफ्ना तीनवटा फिल्म 'माग्ने राजा', 'माइतीघर' र 'जेरीः अन टप' प्रदर्शनको तयारीमा रहेकाले यसअघि मौन बसेकोमा घिमिरेले गिरीसँग माफी मागेका छन्।
घिमिरेले लेखेका छन्, "तपाईंलाई अरूले गाली गर्दा म मुकदर्शक बनेर बसें, त्यसका लागि माफ गर्नुहोला।"
घिमिरेले गिरीको अरूलाई सहयोग गर्ने बानीको तारिफ गर्दै भनेका छन् कि जब कसैलाई ठूलो समस्या पर्छ, गिरी ठीक त्यही बेला आवाज उठाउँछन्। उनले गिरीले समीक्षा अधिकारी, एलिना चौहान, रवि लामिछाने, प्रकाश सपुत, सुरक्षा पन्त, रोहित अधिकारी लगायत थुप्रैको पक्षमा बोलेको स्मरण गराएका छन्, र आफूमाथि अन्याय हुँदा पनि गिरीले साथ दिएको बताएका छन्।
घिमिरेले थपेका छन्, "आज जसले तपाईंलाई लखेट्दै छ, भोलि उसैलाई पनि तपाईंले नै साथ दिने दिन आउन सक्छ।"
'छ एकान छ' फिल्मदेखि लगातार सहकार्य गर्दै आएका यी दुई कलाकारको गहिरो सम्बन्ध र एकअर्काप्रतिको सम्मानलाई यस पोस्टले थप उजागर गरेको छ।

