काठमाडौँ । बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् ।
सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ ।
नगरकोटसँगै विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारयण मन्दिरसहितका सम्पदालाई पर्यटन प्रवद्र्धनका माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले गत वैशाख १ गतेदेखि आगामी चैत मसान्तसम्मका लागि आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले पर्यटकलाई थप आकर्षित बनाएको छ ।
पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म निर्माण कम्पनीले अलपत्र पारेपछि करिब१७ करोडको लागतमा उक्त मार्ग नगरपालिकाले कालोपत्र गरेसँगै नगरकोट जान सहज भएपछि पर्यटकहरूको आगमन बढेको पर्यटन व्यवसायी बताउँछन् ।
नगरकोट बसपार्कसँगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछानेले ११ वर्षदेखि सुस्ताएको पर्यटन व्यवसाय सडक कालोपत्र गरेपछि फस्टाएको बताए । यसअघि यहाँको पर्यटन व्यवसाय सडककै कारणले सुस्ताएको थियो । एघार वर्षसम्म एउटा ठेकेदारले सडक मात्रै अलपत्र पारेन, सिङ्गो पर्यटन व्यवसाय नोक्सानमा पारेको उनको भनाइ छ ।
लामिछानेले भने, “सडककै कारणले नगरकोट आउने पर्यटक घटेका थिए, सोही कारण व्यवसायीले मार खेप्नु प¥यो तर अहिले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरु गरेसँगै नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा सडक कालोपत्र गराएपछि पर्यटकको आगमन बढेको छ, यहाँका व्यवसायीमा अहिले उत्साह थपिएको छ ।”
नगरकोटस्थित होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्रि माकले पर्यटकको आगमनले व्यवसायमा लगानी थप गर्न आँट आएको बताए । विसं २०७२ को भूकम्पले भत्किएको होटललाई नयाँ स्वरुपमा निर्माण गरेर व्यवसायमा लगानी बढाएको बताउँदै उनले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ नगरे ठाउँ पाउन मुस्किल पर्ने उल्लेख गरे ।
नगरकोटका होटलदेखि डाँडाहरूबाट देखिने सूर्योदय, सूर्यास्त, सगरमाथा र हिमाली दृश्यहरूले पर्यटकको मन आनन्दित बनाउने बताउँदै उनले आन्तरिक पर्यटक एक रात बसेर जाने र बाह्य पर्यटकहरू तीन–चार दिनसम्म नगरकोटमा रमाउने जानकारी दिए ।
नगरप्रमुख खत्रीले भूकम्प, कोरोना र अलपत्र सडकका कारण थिलथिलो बनेको यहाँको पर्यटन व्यवसाय अहिले चलायमान बन्दै गएको बताए । सरकारले नगरकोट सडकको ठेक्का रद्द गरेलगत्तै नगरपालिकाले तीव्र गतिमा भक्तपुर–नगरकोट १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गराएपछि पर्यटकको आगमन बढेको उनको भनाइ छ ।
नगरप्रमुख खत्रीले भने “चाँगुनारायणबाट नगरकोटसम्म यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू छन् । त्यसैले नगरले निर्णय गरेर नगरकोट सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेर तीव्र गतिमा निर्माण सम्पन्न गरायौँ, यहाँको पर्यटन व्यवसायको विकास र प्रचारप्रसारका लागि नगरकोट भ्रमण वर्षको सुरुआत गरेका छौँ, पर्यटकको आगमनले व्यवसायी उत्साहित हुनुहुन्छ ।”
चाँगुनारायण, मण्डनदेउपुर र बनेपा नगरपालिकाको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि संयुक्त रूपमा गुरुयोजना निर्माण गरी अगाडि बढ्ने सहमति बनेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबै नगरपालिकाको क्रियाशीलता रहेको उनले उल्लेख गरे ।
नगरकोटमा सामान्य, मध्यमवर्गदेखि उच्च तहका व्यक्तिहरू बस्न सक्नेगरी सामान्यदेखि पाँचचारे र साततारेसम्मका होटलहरू सञ्चालनमा आएका जनाउँदै नगरप्रमुख खत्रीले नयाँ होटलहरू पनि धमाधम थपिँदै गएका बताए ।
“नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउन सरकारसँग संवादमार्फत पहल गरिरहेका छौँ । पर्यटन प्रवद्र्धनका लागि प्रदेश र केन्द्रीय सरकारसँग पनि पहल गर्दै जाने छौँ”, नगरप्रमुख खत्रीले भने । नगरकोटको प्रकृति, संस्कृति र समुदायलाई बचाउँदै यस क्षेत्रका बस्ने, महसुस गर्ने, सिक्ने, प्रचारप्रसार गर्ने र अनुसन्धान गर्ने विषयमा योजनाबद्ध काम गर्दै जाने उनी बताउँछन् ।
पर्यटन व्यवसायी एवं होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले यहाँ पर्यटकको आगमन बढेपछि व्यवसायीले होटलमा लगानी बढाउन थालेका बताए । नगरकोटको विकासमा भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ जिल्लाले लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।
काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहबाट दुई हजार १७३ मिटर उचाइमा छ । व्यवसायी ध्वजुका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ, दोर्जे लाक्पा, धौलागिरि, कञ्चनजङ्घा, मनास्लु, गणेश, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालुलगायत विश्वका उत्कृष्ट हिमशृङ्खलाहरू यहाँबाट देख्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकनका लागि पनि प्रसिद्ध मानिन्छ ।
प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण, सूर्योदय–सूर्यास्तको अनुपम सौन्दर्य, र सांस्कृतिक विविधताको सङ्गमका रूपमा परिचित छ । यहाँबाट लाङटाङ, गणेश, हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँसम्म कि मौसम अनुकूल भएमा माउन्ट एभरेष्टसमेत देख्न सकिन्छ ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले एक दिनमा फरकफरक मौसमको अनुभूति गर्न पाइने नगरकोट हिमाली दृश्य, सूर्योदय र सूर्यास्तमात्रै नभई यहाँका हरियालीले भरिएको घना वनजङ्गल, पाखा–पखेरा, घाँसेमैदान र खुल्ला प्राकृतिक वातावरणले पर्यापर्यटनमा समेत आकर्षण बढाएको बताए ।
यहाँका गुरुङ, तामाङ, शेर्पालगायत जातिको स्थानीय संस्कृतिले पनि पर्यटकलाई सांस्कृतिक अनुभव दिनुका साथै आकर्षित गर्ने उनले बताए । यहाँका ट्रेकिङ मार्ग, साइकलिङ ट्रेल, घरबास, साहसिक खेलहरूलगायत विविध किसिमका पर्यटकलाई आकर्षित गर्ने गतिविधिका कारण बहुपक्षीय पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको उनले उल्लेख गरे ।
‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले नगरकोटलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन ठूलो भूमिका खेलेको अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । उनले यीयस्ता विशेषताका कारण पर्यटकलाई नगरकोटतर्फ आकर्षित गर्नुका साथै स्थानीय व्यवसायीहरूलाई पनि उत्पादन र सेवा सुधार गर्ने अवसर प्रदान गरेको बताए । रासस

