काठमाडौँ । बुद्ध एयरले काठमाडौँ–भरतपुरमा परीक्षण र नियमित उडान सबै सुटुक्कै नै गरेको पाइएको छ । अन्य उडानमा तामझाम, प्रचारप्रसार र सञ्चारमाध्यमको भीड जम्मा गर्ने कम्पनीले भरतपुर उडान भने सुटुक्क, लगभग गोप्य शैलीमा सञ्चालनमा ल्याएको तथ्यले धेरै प्रश्न जन्माएको छ ।
सामान्यतया बुद्ध एयरले नयाँ उडान, नयाँ विमान वा नयाँ रुट सुरु गर्दा औपचारिक घोषणा, प्रेस विज्ञप्ती सार्वजनिक गर्ने गरेको थियो । तर, भरतपुरको हकमा परीक्षण र नियमित उडान दुबैको सूचना गोप्य राख्नाले अर्काे प्रश्न उठेको हो ।
भरतपुर विमानस्थल सीमित धावनमार्ग, आसपास बस्ती र भौगोलिक अवरोध तथा हुस्सु, तातो हावा र अचानक मौसम परिवर्तन जस्ता कारणले पहिलेदेखि नै संवेदनशील विमानस्थलको सूचीमा पर्दै आएको छ । यस्तो अवस्थामा ठूला जहाज र नियमित उडान सञ्चालन गर्दा कुनै सूचना नै सार्वजनिक नगरि बुद्धले यात्रुलाई गुमराहमा राख्दै आएको पाइएको हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अनुसार बुद्धले ७२ सिट क्षमताको एटीआर जहाजबाट २०८२ को जेठ ८ गते परीक्षण उडान गरेको थियो । बुद्धको ७२ सिटे एटिआर जहाजको भरतपुरमा पहिलो उडान बुद्धका क्यापटेन प्रमोद थापाको टिमले गरेको थियो ।
उक्त टिमसँगै सो उडानमा क्यानका निमित्त महानिर्देशक तथा तत्कालीन एभिएसन सेफ्टी एण्ड सेन्युरिटी रेगुलेशन निर्देशनालयका प्रमुख देवचन्द्रलाल कर्ण समेत सहभागी थिए ।
उनकै निर्देशनमा बुद्धले साउनदेखि काठमाडौँ भरतपुर रुटमा नियमित उडान गर्दै आएको छ । त्यसअघि बुद्धले ४२ सिट क्षमताको एटीआर जहाजबाट सन् २०१० देखि उडान गर्दै आएको थियो । एटीआर ७२ सिटे जहाजबाट उडान सुरु गरेसँगै बुद्धले भरतपुरबाट ४२ सिटै जहाज हटाएको छ ।
देशकै सबैभन्दा ठूला निजी वायुसेवा कम्पनीमध्ये एक बुद्ध एयरको भरतपुर उडान अहिले सुरक्षा दृष्टिले ‘टिकिङ टाइम बम’ बनेको गम्भीर आशंका उड्डयन क्षेत्रभित्रै उठ्न थालेको छ ।
उक्त आशंका सँगै झनै गम्भीर प्रश्न प्राधिकरण तर्फ सोझिएको छ । क्यानले आईकाओको म्यानुअल विपरित गएर भरतपुरमा ठूला जहाजको उडान अनुमति दिएको भन्दै क्यान नेतृत्वतिर प्रश्न उठेन थालेको छ ।
यात्रु अनजान, कम्पनी ढुक्क
सबैभन्दा चिन्ताजनक पक्ष भरतपुर उडानको सुरक्षाको विषयमा यात्रु पूर्ण रूपमा अनजान रहँदै आएका छन् । उनीहरूलाई सम्भावित जोखिम, विमानस्थलको संवेदनशीलता र आपतकालीन तयारीको विषयमा कुनै जानकारी नै छैन् ।
यात्रु बोक्ने विमान व्यावसायिक प्रयोग मात्र होइन, जीवन बोक्ने साधन हो भन्ने आधारभूत सत्यलाई नै नजरअन्दाज गरिएको देखिन्छ ।
बुद्धले भरतपुरबाट काठमाडौँ आउँदा ५५ जना जति मात्रै यात्रु बोक्ने गरेको र सिंगल इन्जिन बराबरको क्षमतामा उडान गर्ने गरेको भन्दै झुट विवरण दिएको छ । काठमाडौँ भरतपुर रुटमा कयौँ पटक उडान गरेका यात्रुले प्राय बुद्धले सो उडान फूल अकुपेन्सीमा रहने बताउने गरेका छन् ।
दुर्घटनापछि मात्रै छानबिन गर्ने पुरानो रोग
नेपालको उड्डयन इतिहासले के देखाएको छ भने दुर्घटना हुन्छ, छानबिनका लागि समिति बन्छ । दोषी ‘प्रणाली’ ठहरिन्छ र विषय सेलाउँछ । भरतपुर उडानको हकमा पनि दुर्घटनापछि मात्रै जाग्ने प्रवृत्ति दोहोरिन नहुने चेतावनी उड्डयन क्षेत्रका सरोकारवालाहरूले दिएका छन् ।
‘संवेदनशील’ विमानस्थलको सूचीमा भरतपुर
नागरिक उड्डयन प्राधिकरणकै आन्तरिक दस्तावेजअनुसार भरतपुर विमानस्थलमा संवेदनशील विमानस्थ्लको सूचीमा रहेको छ । क्यानको वेवसाइटमा राखिएको तथ्यांक अनुसार भरतपुर विमानस्थलमा साना जहाजले मात्रै उडान तथा अवतरण गर्न पाउँछन् ।
सीमित धावनमार्ग, बस्ती नजिकको अवतरण क्षेत्र र गर्मीयाममा तातो हावाका कारण भरतपुर विमानस्थल उच्च जोखिममा रहेको क्यानका अधिकारीहरु बताउँछन् । यही कारणले विगतमा यहाँ साना विमानहरू प्राथमिकतामा राखिएको थियो। तर अहिले ठूलो क्षमताको एटीआर ७२ नियमित उडानमा प्रयोग हुनु ले जोखिम व्यवस्थापनबारे थप प्रश्न खडा गरेको छ ।
क्यानको वेवसाइटमा रहेको डेटामा समेत भरतपुर विमानस्थलमा साना जहाज मात्रै जाने उल्लेख गरिएको छ । डाटा अनुसार भरतपुर विमानस्थलमा ATR42, JS41, B190, D228, DHC6, L410, Y12 जस्ता जहाजहरु मात्रै उडान तथा अवतरण गर्न सक्छन् ।
याे पनि:
उच्च जोखिममा बुद्धको भरतपुर उडान, जुनसुकै बेला हुनसक्छ ठूलो दुर्घटना !
भद्रपुर उडानमा बुद्ध एयरको गम्भीर लापरवाही, हटायो अपरेशन प्रमुख
दुर्घटना जाँचबुझ समिति गठन नहुँदै किन निकालियो बुद्धको जहाज ?

