काठमाडौँ । शेयर बजारमा कहिलेकाहीँ नियमको छिद्र खोजेर सर्वसाधारण लगानीकर्तालाई मर्कामा पारिने गरेको गुनासो सुनिन्छ । पछिल्लो समय ‘सिटी होटल लिमिटेड’ र यसका सञ्चालकहरूको एउटा कदमलाई लिएर यस्तै गम्भीर आरोप लागेको छ ।
गोल्यान ग्रुपको मुख्य लगानी रहेको तथा शक्ति कुमार गोल्यान र अक्षय गोल्यानको नेतृत्वमा रहेको उक्त होटलले पुँजीबजार र नियामक निकायको कमजोरीको फाइदा उठाउँदै सर्वसाधारणलाई झुक्याएको आरोप लागेको छ । यसलाई लिएर नियमनकारी निकायको भूमिकामाथि पनि प्रश्न उठेको छ ।
कसरी बिछ्याइयो ठगीको जालो ?
ठगीको योजना निकै चलाखीपूर्ण थियो । धितोपत्र कानुनअनुसार कम्पनीका संस्थापकहरूको ९० प्रतिशत सेयर ३ वर्षसम्म दोस्रो बजारमा बेच्न पाइँदैन । तर, २०८० जेठ १७ गते सिडिएससीको सेटिङमा बेच्नै नमिल्ने संस्थापक सेयर र किनबेच भइरहेको सर्वसाधारण सेयरलाई एउटै चिनारी नम्बर आइजीन दिइयो । यसको नतिजा के भयो? नेपाल स्टक एक्सचेन्जको कम्प्युटर प्रणाली टीएमएसमा ती बेच्नै नमिल्ने संस्थापक सेयरको भाउ पनि सर्वसाधारणको जस्तै ५३३ रुपैयाँको हाराहारीमा देखिन थाल्यो ।
उक्त मूल्यलाइ देखाएर कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता शेयर लिलामिमा बिक्री गर्याे । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता (लकइन अवधिमा रहेका), कर्मचारी समूहतर्फ ६ हजार कित्ता र साधारण समूहतर्फ १ लाख ५४ हजार ४१९ कित्ता शेयर बिक्री भए ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ३८ (१) अनुसार ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन’ भनेर उल्लेख गरेको छ । तर, सिटी होटलले उक्त नियमको अवज्ञा गर्दै गैरकानूनी रुपमा सर्वसाधारणको शेयरमा मिसाएर लकइनमा रहेको संस्थापकको शेयर बिक्री गरेको हो ।
कानुनको ठाडो उल्लङ्घन गर्दै बजारमा ५३३ रुपैयाँ चलेको सेयर सस्तोमा पाइने लोभ देखाएर सोझा लगानीकर्तालाई २५१ देखि ४६९ रुपैयाँसम्ममा भिराइयो । लगानीकर्ताले पछि मात्र थाहा पाए कि उनीहरूले महँगोमा किनेको त्यो सेयर त २०८३ जेठ ४ गतेसम्म बजारमा बेच्नै नमिल्ने पो रहेछ ।
धितोपत्र बोर्डको संस्कास्पद संग्लनता
सिटी होटलले कानून विपरित सर्वसाधारणलाई ठगी गर्दै कलइनमा रहेको शेयर बिक्री गर्दा नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) भने मुकदर्शक जस्तै बनेको छ । नियम अनुसार हकप्रद सेयर निष्कानशको अनुमति दिएको भन्दै निकायम निकायका अधिकारीहरु भने जिम्मेवारीबाट पन्छिएका छन् ।
सीएनएन खबरले लकइनमा रहेको संस्थापकको शेयर सर्वसाधारणको शेयरमा मिसाएर अक्सनमा बिक्री गर्न पाइन्छ भन्ने प्रश्नमा सेबोनका प्रवक्ता निरन्जय घिमिरे भने नियम अनुसार नै दिईएको दाबी गर्छन् ।
‘साथीहरुले नियम अनुसार नै सिटी होटललाई हकप्रद निष्काशनको अनुमति दिनुभएको हो । सबै कुरा त मलाइ पनि जानकारी छैन्, मैले सम्बन्धीत शाखामा कुरा राख्दा नियमअनुसार नै हो भन्नुभएको छ’, उनले भने ।
सेबोनका उच्च तहका कर्मचारीहरु भने नियमअनुसार नै अनुमति दिएको भन्दै पन्छिनुले सिटी होटलका सञ्चालकको गैरकानूनी काममा यीनिहरुले मौन समर्थक गरेको छर्लङ हुन्छ ।
शेयर बजारका जानकारहरु भने लकइनमा रहेको संस्थापकको शेयर बिक्री गर्नु नै गैरकानूनी रहेको बताउँछन् । नेप्सेमा कार्यरत एक उच्च तहका कर्मचारीले लकइनमा रहेको शेयर बिक्री गर्नु नै गैरकानूनी रहेको बताए ।
लकइनमा भन्दै शेयर विक्रीकाे सूचना
‘संस्थापक शेयरधनिलाई ३ वर्षको लकइनको अवधि दिइन्छ । त्यो अवधिभित्र उक्त शेयरको कारोबार हुँदैन् । कारोबार नै नभएपछि बिक्री गर्न मिल्ने कुरौ भएन’, ती अधिकारीले भने, मन लाग्यो अनि बेचिहाल्ने भए संस्थापक र सर्वसाधारण शेयरमा के फरक भयो ? लकइनमा किन राख्नुपर्याे ?
पुँजी बजार विश्लेषक डा केशव श्रेष्ठ लकइनमा रहेको शेयर बिक्री गर्नु नै गैरकानूनी रहेको बताउँछन् । उनले होटलको हकमा लकइन अवधि नरहने भनिएतापनि कम्पनीले सार्वजनिक गरेको सूचनामा नै लकइन उल्लेख गरेरै बिक्री गर्नु ठूलो उपराध रहेको बताए ।
उनले धितोपत्र कानूनमा लकइनमा रहेको शेयर बिक्री गर्न पाउने कुनै अधिकार नरहेको भन्दै तत्काल उक्त शेयर सिभर्स गर्नुपर्ने बताए । उनले यसमा धितोपत्र बोर्डको ठूलो गल्ती रहेको बताए ।
एउटा लिस्टेड कम्पनीले लकइनमा रहेको संस्थापक शेयर खुलमखुला बिक्री गरेको छ, त्यो हेर्ने नियामक निकाय हो । सेबोनले उक्त गैरकानूनी काम गर्ने कम्पनीलाई जरिवाना गर्ने र बिक्री गरेको शेयर तत्कालै रिभर्स गर्नुपर्ने बताए ।
भारत र अमेरिकामा भएको भए के हुन्थ्यो?
यही घटना अमेरिकाको 'सेक' (SEC - Securities and Exchange Commission) वा भारतको 'सेबी' (SEBI - Securities and Exchange Board of India) को निगरानीमा भएको भए के हुन्थ्यो? भारतमा सुब्रत रोयको 'सहारा इन्डिया' ले सर्वसाधारणलाई ढाँट्दा 'सेबी' ले सिधै जेल कोचेको थियो। त्यहाँ बजारको मूल्यमा अलिकति मात्र कृत्रिम खेलबाड (Price Rigging) वा इन्साइडर ट्रेडिङ भयो भने तत्काल डिम्याट र बैंक खाता रोक्का गरिन्छ। अमेरिकामा त यस्तो 'वित्तीय आतङ्कवाद' मच्चाउने सञ्चालकहरूलाई सीधै हत्कडी लगाएर वर्षौंको जेल सजाय र अर्बौं डलर जरिवाना तिराइन्छ।
तर नेपालमा यहाँ 'धितोपत्र सम्बन्धी ऐन, २०६३' को परिच्छेद ९ मा 'इन्साइडर ट्रेडिङ' र बजार मूल्यमा कृत्रिम प्रभाव पार्नेलाई जेल हाल्ने र बिगो जफत गर्ने कडा व्यवस्था छ। तर कानुन कितावमा मात्र सीमित छ। यहाँ त ठगहरू खुलेआम हिँडिरहेका छन् र राज्यका निकायहरू उनीहरूकै चाकरी गरिरहेका छन्।
२०८३ जेठ ५ को महाविनाश
यो ठगीको शृङ्खला यतिमै रोकिनेवाला छैन। आगामी २०८३ साल जेठ ५ गते कम्पनीका प्रवर्धक र कर्मचारीको करिब २ करोड ७२ लाख कित्ता सेयरको ’लक–इन’ खुल्दैछ। निरन्तर घाटामा रहेको र नेटवर्थ जम्मा ९८ रुपैयाँ ५३ पैसा भएको कम्पनीको करोडौं सेयर जब बजारमा फ्याँकिन्छ, तब सेयरको भाउ पातालमा पुग्नेछ । त्यतिबेला अहिले आश गरेर बसेका हजारौं साना लगानीकर्ताको उठीबास लाग्नेछ ।
पुँजीबजार सुधारगर्न भन्दै अनसन बस्ने लगानीकर्ता नै होटलका सञ्चालक
होटलमा सर्वसाधारणको तर्फबाट सञ्चालक छन् तिलक कोइराला । कोइराला तिनै व्यक्ति हुन जो, सरकारले पुँजीबजार सुधारका लागि भन्दै अनसन बसेका व्यक्ति हुन् । लगानीकर्ताको हक हितका लागि भन्दै अनसनामा बसेर आफ्ना माग पूरा गरेका उनी सञ्चालक रहकै कम्पनीले लकइनमा रहेको शेयर बिक्री गर्दा समेत उनी मौन बस्दै आएका छन् ।
पुँजी बजार सुधार संघर्ष समितिका संयोजक भन्दै उनले २०७९ मा पुँजीबजार सुधारका लागि भन्दै सेबोनअघि अमरणअनसन बसेका थिए । उनको दबाबमा त्यतिबेला सरकारले उनको माघ सम्बोधन गर्नेभन्दै अनसन तोडाएको थियो ।
‘बिक्री नभएको शेयर संस्थापककै रुपमा बिक्री गरेको कुरा मलाइ जानकारी छ, त्यो लकइनभित्र रहेको वा नरहेको मलाइ जानकारी भएन, यदी त्यसो भएको हो भने लकइनमा रहेको शेयर बिक्री गर्ने संस्थापकलाई कारवाही हुनुपर्छ’, उनले भने ।
उनले आफू सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व गर्दै सञ्चालक मात्रै भएको भन्दै कम्पनीका सबै गतिविधिबारे जानकारी राख्ने अधिकार नभएको बताए । उनले सञ्चालक बस्दा केही कठिनाई भएको भन्दै केहीदिन अघि सञ्चालकबाट राजीनामा दिएको बताए ।
‘मैले एउटा कम्पनीको संञ्चालकका रुपमा बस्दा त्यति धेरै कम्फट फिल गरिन । त्यही भएर केही दिनअघि मात्रै सञ्चालकबाट राजीनामा दिइसकेको छुु, बोर्डबाट स्वीकृत भएको जानकारी पाएको छैन’, उनले भने ।
यस विषयमा बुझन् खोज्दा सिटी होटलका कम्पनी सचिव सुन्दर वहादुर सेनीले भने कुराकानी गरनै आनाकानी गरे ।
बुधबार साँझ सीएनएन खबरकर्मीसँगको सम्पर्कमा उनले भने, ‘होटलको शेयर बिक्रीको कुरा बुझाउन तपाइँलाई केही समय लाग्छ । म अहिले एउटा कार्यक्रममा छु, यो सकिदा कतिबेला लाग्छ थाहा छैन्, भोली बिहान साढे १० बजेतिर मलाइ फोन गर्नुस् म सबै बुझाउँछु ।’
उनले भनेअुनसार हामीले बिहीबार साढे १० बजे उनले फोन गर्याे, तर बुधबार साँझ कुराकानी भएको नम्बर अफ भन्यो । विकल्पमा हामीले त्यही नम्बरमा रहेको ह्वास्एपनम्बरमा सम्पर्क गर्याे । फोन गएपनि नउठेपछि उनलाई हामीले म्यासेज गर्याे । हामीले गरेको म्यासेजमा उनले आफू अफिसको कार्यक्रमले बाहिर रहेको भन्दै जवाफ फकार्ए ।
यस्ताे छ कम्पनीले शेयर बिक्री पश्चात सार्वजनिक गरेकाे सूचना

