नयाँ वर्ष नेपालीहरूका लागि उमङ्ग र उत्साहको पर्व हो। बैशाख महिना आफैँमा सुन्दर छ, तर मेरो लागि यसपालिको नयाँ वर्ष केही फरक र विशेष थियो। २०८२ सालको अन्तिम महिना चैत्रको २९ गते, आइतबार। घरमा बिदाइको माहोल अलि फरक र भावुक थियो। मेरी ५ वर्षीया छोरी सेमसाङले मलाई खादा लगाइदिँदा मेरो मनमा खुसी र एक किसिमको जिम्मेवारीको गह्रौँ भारी महसुस भइरहेको थियो। छोरीको त्यो अबोध मुस्कान र श्रीमति लमिनको आशीर्वाद थापेर म एक महान उद्देश्यका साथ जुगलतिर हानियौँ।
यो यात्रा केवल एउटा शिखरको आरोहण मात्र थिएन, यो त काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको काखबाट विश्वको सर्वोच्च शिखर सगरमाथालाई आँखै अगाडि साक्षात् देख्न सकिन्छ भन्ने रहस्यलाई चिर्ने एउटा ऐतिहासिक मिसन थियो। धेरैका लागि यो अझै पनि एउटा अनौठो कौतुहलताको विषय थियो, जसलाई विश्वसामु ल्याउन हामीले यो साहसिक कदम चालेका थियौँ।
बिहानको ठिक ७ बजे गोकर्णबाट प्रस्थान गर्यौँ। जुगल ४ निवासी कैलाश श्रेष्ठको बोलेरो गाडी सहयात्री थियो। गाडीको सजावट आफैँमा हेर्न लायक थियो—पुरै खादा र मालाले सजाइएको, ठ्याक्कै पाकिस्तानी कलात्मक गाडीहरू जस्तै। गाडीको अगाडिको सिसामा पैसा झुण्ड्याइएको त्यो फरक सजावटले यात्राको रौनकतालाई अझ बढाएको थियो। बेसीगाउँमा यस परियोजनाका प्राविधिक विज्ञ लाक्पा देण्डी शेर्पा र उनका १५ वर्षीय भतिज ङिमा वाङ्छु शेर्पालाई रिसिभ गर्यौँ।
बौद्ध अरब बैंकको एटिएमबाट आवश्यक नगदको व्यवस्थापन गरी हाम्रो टोली साखु, नगरकोट र बाउन्नेपाटीका घुम्तीहरू काट्दै अघि बढ्यो। जिरो किलो हुँदै हामी पर्यटकीय क्षेत्र दोलालघाट पुग्यौँ। भोकले सताउन थालेपछि सुकुटे बिचका बिभिन्न रिसोर्टमध्ये एक चर्चित रिसोर्टमा रोकियौँ। रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा दाइको त्यो हार्दिक स्वागत र सम्मानजनक बिदाइ हाम्रो लागि निकै ऊर्जावान् थियो। उहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै हामी अरनिको राजमार्गलाई बिदाइ गरी सुन्दर नगरी बलेफी हुँदै ब्रम्हायणी नदीको किनारै किनार अघि बढ्यौँ।
जलबिरेको ऐतिहासिक नेवारी बजार र जुगल गाउँपालिकाको प्रवेशद्वार ढाँडे बजार हुँदै हाम्रो यात्रा अघि बढ्यो। कातिकेको अप्ठ्यारो बाटो छिचोल्दै ब्रम्हायणी खोलालाई पटक-पटक वारपार गर्दै हामी सुन्दर बस्ती तेम्बाथाङ पुग्यौँ। समुन्द्री सतहबाट २,२०० मिटरको उचाइमा रहेको यो बस्तीमा करिब १५० घरधुरी रहेछन्। यहाँको शेर्पा संस्कृति र स्थानीयले आफ्नै लगानीमा निर्माण गरिरहेको गुरु रिन्पोचेको विशाल प्रतिमाले सबैको मन जित्ने रहेछ । यहाँबाट हाम्रो टोलीमा नुर्बु शेर्पा, नाम्गेल शेर्पा र फुदोर्जे शेर्पा थपियो । पहिलो दिनको गन्तव्य छेन्दाङ (२,६०० मि.) पुग्यौँ। धार्मिक र आध्यात्मिक महत्त्व बोकेको छेन्दाङमा नुर्बु दाइको होटलमा हाम्रो बास भयो।
प्रकृतिको स्वर्ग 'नेपेमाछाल'
दोस्रो दिन बिहानै ६ बजे हाम्रो यात्रा सुरु भयो। रोटी र चियाको खाजा खाएर हामी उकालो लाग्यौँ। करिब एक घण्टाको हिँडाइपछि ङिमा ल्हामाको चौरी गोठ भेटियो। त्यहाँको मिठो स्वागतसँगै एक ग्लास ताजा चौरीको दूधले शरीरमा नयाँ तागत भरियो। यो दिनको यात्रा मेरो जीवनकै सबैभन्दा सुन्दर पदयात्रा बन्यो। एकातिर चराचुरुङ्गीको मीठो स्वर, अर्कोतिर ब्रम्हायणी खोलाको एकनासको सुसेली। बाटोभरि मुस्कुराइरहेका सेता, पहेँला र राता लालीगुराँसहरूले यात्रालाई जीवन्त बनाएका थिए।
बाटोमा पर्ने 'तोङ्श्युप' गुफा हाम्रो लागि एउटा अचम्मको ठाउँ बन्यो। सयौँ मानिस अट्न सक्ने त्यो गुफाको धार्मिक महत्त्व निकै रहेछ। कुनै थकानको महसुस नै नभई हामी दिउँसो १ बजे नेपेमाछाल (३,५०० मि.) पुग्यौँ। बौद्ध शास्त्रहरूका अनुसार यो संसारकै उत्कृष्ट 'Behyul' अर्थात् गुप्त क्षेत्रमध्ये एक हो। आठौँ शताब्दीतिर गुरु पद्मसंभवले यहाँ लामो समय बिताएको विश्वास गरिन्छ। वरिपरि हिमालै हिमालले घेरिएको यो उपत्यकामा पुग्दा साच्चिकै भगवानको आँगनमा पुगेको आभास हुन्छ। नेपेमाछालबाट २ घण्टाको उकालो हिडियो भने बुम्बाशेर्बु (४,२०० मि.) पुग्न सकिन्छ । जहाँबाट जुगल हिमशृङ्खलाका चुचुराहरू नजिक देखिन्छन्, जसलाई 'जुगल भिउ प्वाइन्ट' रहेको छ ।
हिउँको सास्ती र ऐतिहासिक तयारी
बैशाख १ गते, नयाँ वर्षको पहिलो दिन। हाम्रो लक्ष्य बेसक्याम्प पुग्ने थियो। पाल्मोथाङबाट अगाडि बढ्दा बाटोभरि बाक्लो हिउँ थियो। हिउँमाथि हिँड्नु आफैँमा चुनौतीपूर्ण, त्यसमाथि ठाडो र अप्ठ्यारो बाटो। धेरै ठाउँमा डोरीको सहायता लिनुपर्यो। धेरै सङ्घर्षपछि दिउँसो ३ बजे हामी ४,७०० मिटरको बेसक्याम्पमा पुग्यौँ। यो दिनको यात्रा करिब ८ घण्टाको थियो र सामन्यतय पर्यटक तथा आरोहीहरु नेपेमाछालबाट ३ घण्टाको हिडाईपछि पाल्मोथाङमा क्याम्प बस्ने गरिन्छ । हामी भने सिधे बेस्क्याम्प लागियो । मौसम बिग्रिएर हिउँ पर्न थालेपछि टेन्ट सेट गर्न निकै सास्ती भयो, तर टोलीको साहसले त्यो समस्यालाई समाधान गर्यौँ।
यो बेसक्याम्प विश्वकै एउटा दुर्लभ स्थान हो, जहाँबाट एउटै बेसक्याम्पबाट ८-९ वटा हिमालहरू आरोहण गर्न मिल्ने ठाउँ विश्वमै कमै हुन सक्छन्।" यहाँबाट फुर्बेघ्याच्यु (६,७३७ मि.), जुगल याङ्री (६,३६५ मि.), ग्याल्जेन पिक (६,१५१ मि.), गुम्बाचुली (६,३१६ मि.), जुगल १ (६,५९१ मि.), जुगल २ (६,५१८ मि.), जुगल ३ (६,१८४ मि.), जुगल ४ (५,९३६ मि.) र जुगल ५ (५,९२२ मि.) जस्ता हिमालहरू आरोहण गर्न सकिन्छ।"
बैशाख २ गतेलाई शरीरलाई वातावरणसँग अनुकूल बनाउन हामीले एक दिन 'Rest Day' छुट्यायौँ। भोलिको आरोहण सहज होस् भनेर High Camp सम्म बाटो बनाएर फर्कियौँ। यो समय मानसिक र शारीरिक सन्तुलन मिलाउने क्षण थियो र भोलिको आरोहणलाई सहज बनाउन हामीले ५,००० मिटरको जुगल ग्लेशियरसम्म पुगेर बाटो बनाउने काम गर्यौँ। त्यो रात टेन्टमा सुत्दा मनमा भोलिको आरोहणको कौतुहलता र जोस दुवै थियो।
शिखरको विजय र विविधतापूर्ण आरोहीको अनुभव
राति १ बजे किचेन टिमले आगो बाल्न सुरु गर्यो। रोटी र चिया खाएर हामी ठिक २ बजे ऐतिहासिक आरोहणका लागि प्रस्थान गर्यौँ। मनमा उत्साह र शरीरमा साहस बोकेर हामी अघि बढ्यौँ। बाहिर रगत जमाउने चिसो, तर मनमा शिखर पुग्ने तातो जोश! हामी हेडलाइटको प्रकाशमा अघि बढ्यौँ। हिउँले हिजोको बाटो पुरिसकेको थियो, हामी पालैपालो बाटो बनाउँदै ५,००० मिटरको उचाइ काटेर अघि बढ्यौँ। प्रेम शेर्पाले निकै बलियो नेतृत्व गरे। साढे ३ घण्टाको निरन्तर उकालीपछि जब उज्यालो भयो, जुगलका चुचुराहरू आँखै अगाडि मुस्कुराए। हामी जुमर, डोरी र क्र्याम्पन्च जस्ता सबै आरोहण उपकरणका साथमा थियौँ, तर यो शिखर यति सहज रहेछ कि ती उपकरणको खासै प्रयोग गर्नै परेन। ५ घण्टा ४० मिनेटको अनवरत सङ्घर्षपछि बिहान ठिक ७:४० बजे हामीले ५,५७० मिटरको चुचुरोमा पाइला राख्यौँ। २०८३ बैशाख ३ गते नेपालको पर्यटन उद्योगमा एक ऐतिहासिक दिन रह्यो ।
हाम्रो यो आरोहण टोली आफैँमा निकै रोचक र विविधतापूर्ण थियो, जसले यो पिकको सहजतालाई प्रमाणित गर्थ्यो। टोलीमा हामी चार जना थियौँ, जो पूर्ण रूपमा फरक-फरक पृष्ठभूमि र अनुभवका थियौँ:
- मिलन तामाङ: पर्यटन अभियान्ता तथा यस परियोजनाका टिम लिडर, जसले सामान्य केही हिमालहरू आरोहण गरिसकेका थिए।
- लाक्पा देण्डी शेर्पा: हिमाल सम्बन्धी 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' कायम गरेका कीर्तिमानी आरोही।
- ङिमा शेर्पा: मात्र १५ वर्षका किशोर, जसले यसअघि कहिल्यै हिमाल चढेका थिएनन्।
- प्रेम शेर्पा: ५० वर्षीय स्थानीय बासी, जो हिमालकै काखमा जन्मिए तर अहिलेसम्म कुनै हिमाल आरोहण गरेका थिएनन् र उनीसँग आरोहण सम्बन्धी कुनै प्राविधिक ज्ञान पनि थिएन।
एकजना विश्वकीर्तिमानी आरोहीदेखि लिएर पहिलोपटक हिमाल चढ्दै गरेका १५ वर्षे किशोर र ५० वर्षे स्थानीय बासीसम्मको यो सफल आरोहणले एउटै कुरा प्रमाणित गर्यो— 'जुगल एभरेस्ट भिउ प्वाइन्ट' शारीरिक रूपमा स्वस्थ जो कोहीका लागि पनि सहज र सम्भव छ।
चुचुरोबाट देखिएको दृश्य वर्णन गर्न शब्दहरू अपुग हुन्छन्। नाम जस्तै, त्यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा अत्यन्तै स्पष्ट र नजिक देखियो। सगरमाथासँगै ल्होत्से, चोयु र मकालुको भव्यताले हामीलाई मन्त्रमुग्ध बनायो। मौसम सफा भएकाले चीनतिरको शिसापाङ्मा र पवित्र कैलाश पर्वतसमेत त्यहाँबाट नियाल्न सकिन्थ्यो। पुरै जुगल हिमशृङ्खला हत्केला जस्तै स्पष्ट देखिने यसको टपमा क्याम्पिङका लागि पनि निकै उत्कृष्ट रहेछ।
रोमाञ्चक फिर्ती र पर्यटनको 'गेम चेञ्जर'
शिखरमा मौसमको जोखिमलाई मध्यनजर गर्दै हामीले धेरै समय बिताएनौँ। फर्कँदा हामी हिउँमा चिप्लेटी खेल्दै, रमाइलो गर्दै मात्र साढे २ घण्टामै बेसक्याम्प फर्कियौँ। शरीर थकित भए तापनि मनमा एउटा ऐतिहासिक उपलब्धि बोकेर बेसक्याम्पबाट थप ३ घण्टा ओरालो झर्दै साँझ ६ बजे हामी पुनः नेपेमाछाल आइपुग्यौँ। सात दिनको यात्रापछि हामी काठमाडौँ फर्कँदा एउटा नयाँ इतिहास कोरिसकिएको थियो।
काठमाडौँबाट यति नजिक र सगरमाथासहितका विशाल हिमालहरू देख्न सकिने यो पिक नेपालको पर्यटन उद्योगका लागि वास्तवमै एउटा 'Game Changer' गन्तव्य बन्ने निश्चित छ। ५,५७० मिटरको यो उचाइ थोरै समय, कम खर्च र सहज पहुँचको हिसाबले साहसिक पर्यटकहरूका लागि एउटा सुनौलो उपहार हो।
यो यात्रा केवल एउटा शिखरको आरोहण मात्र थिएन, यो त जुगलको काखबाट सगरमाथाको ढोका खोल्ने एउटा प्रयास थियो। यदि तपाईं पनि साहसिक यात्रा र हिमालको साक्षात् दर्शन गर्न चाहनुहुन्छ भने, 'जुगल एभरेस्ट भिउ प्वाइन्ट' तपाईंलाई स्वागत गर्न तयार छ। आउनुहोस्, आफ्नै देशको यो नयाँ र सुनौलो गन्तव्यलाई माया गरौँ र यसको प्रचार-प्रसारमा जुटौँ।
अन्तमा, यो साहसिक तथा ऐतिहासिक परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमूल्य सहयोग, हौसला र मार्गनिर्देशन प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा म हृदयदेखि नै हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्दछु। यो सफलता हाम्रो मात्र नभई सम्पूर्ण नेपालको पर्यटन क्षेत्रको साझा गौरव हो।"
यस ऐतिहासिक परियोजनाको आयोजना जुगल गाउँपालिकाले गरेको थियो ।
लेखक टिम लिडर, आरोही, र जुगल गाउँपालिका पर्यटन समितिको संयोजक हुन् ।

