नेपालको शेयर बजारबारे एक खतरनाक भ्रम बारम्बार फैलाइन्छ की सरकारले चाहे बजार बढ्छ, अर्थमन्त्रीले बोले बजार उक्लिन्छ, नीति तथा कार्यक्रममा प्राथमिकता परेपछि लगानीकर्ताको भाग्य फेरिन्छ। यो भ्रम मात्र होइन, आम लगानीकर्तालाई झुक्याउने सुनियोजित मनोविज्ञान पनि हो। किनकि शेयरको मूल्य राज्यको भाषण, बजेटको नारा वा अर्थमन्त्रीको चाहनाले तय हुँदैन; त्यो त कम्पनीको वास्तविक अवस्था, उद्योगको उत्पादक क्षमता, व्यवस्थापनको विश्वसनीयता, वित्तीय अनुशासन र भविष्यप्रतिको भरोसाले तय गर्छ ।
बजार त्यतिबेला बढ्छ, जब सूचीकृत कम्पनीहरू बलिया हुन्छन्। जब तिनका वित्तीय विवरण विश्वसनीय हुन्छन्। नाफा कागजमा होइन, व्यवहारमा देखिन्छ। सञ्चालकहरूको नियत शेयर मूल्य लाई चलेखल गरेर सर्वसाधारणको पैसा तान्ने होइन, संस्था निर्माण गर्ने हुनु पर्छ। तर नेपालको पुँजीबजारमा समस्या यहींबाट सुरु हुन्छ। यहाँ वास्तविक मूल्य सिर्जनाभन्दा कृत्रिम मूल्य निर्माणको प्रवृत्ति बलियो देखिएको छ। उद्योग, कम्पनी वा परियोजना सेयर बजार मा लिस्टिङ् को प्राथमिक उद्देश्य उत्पादन, सेवा वा रोजगारी सिर्जना होइन; बरु कुनै दिन पुँजीबजार लाई उपयोग गरेर कागजी हैसियत, संकास्पद प्रक्षेपण र भ्रमपूर्ण प्रचारका आधारमा शेयरको भाउ उचाल्ने धन्दा जस्तो देखिने अवस्था पैदा भएको छ ।
यही कारणले “सरकारले बजार बढाउँछ” भन्ने भाष्य आफैंमा भ्रामक छ। सरकारले बजारमा विश्वासको वातावरण बनाउन सक्छ, नियमन सुधार गर्न सक्छ, भित्री कारोबार, कृत्रिम कारोबार, मिलेमतो र तथ्याङ्कीय हेरफेरमाथि कडाइ गर्न सक्छ। तर सरकारले कुनै कमजोर कम्पनीलाई बलियो बनाउन सक्दैन। कुनै अपारदर्शी सञ्चालकलाई इमानदार बनाउन सक्दैन। कुनै झुटो प्रक्षेपणलाई वास्तविक नाफामा बदल्न सक्दैन। नारा दिएर बजार बढ्दैन; नीतिगत स्वच्छता, संस्थागत कडाइ र कम्पनीगत विश्वसनीयताले मात्र बढ्छ ।
आज बजारमा सुस्तता छ भने यसको कारण लगानीकर्ताको कमजोरी होइन, संरचनागत अविश्वास हो। सर्वसाधारण लगानीकर्ताले पटक–पटक सपना किनेर धक्का खाएका छन्। कहिले कम्पनीले कागजी उपलब्धि देखाएर बजार ततायो, कहिले केही सीमित खेलाडीले कृत्रिम चलखेलमार्फत मूल्य उचाले, कहिले नियामक निकायले समयमै हस्तक्षेप गरेन, र कहिले सरकार आफैंले बजारलाई अर्थतन्त्रको स्वास्थ्यभन्दा सस्तो लोकप्रियताको औजार बनायो। परिणामतः आज लगानीकर्ता न घोषणामा विश्वास गर्छ, न प्रक्षेपणमा, न बजार बढाउने नीतिगत वाचामा। उनीहरू अब एउटा मात्रै कुरा खोज्छन्—के यो बजार वास्तवमै निष्पक्ष छ?
समस्या केवल केही खराब कम्पनीको छैन; समस्या त्यो संरचनाको हो, जसले खराब आचरणलाई सजिलै स्थान दिन्छ। कानुनी छिद्र प्रयोग गरेर, नियमनलाई प्रभावमा पारेर, हल्ला सिर्जना गरेर, सीमित सूचनालाई निजी फाइदाका लागि प्रयोग गरेर, र बजारमा कृत्रिम उत्साह फैलाएर सर्वसाधारणको बचत खोस्ने प्रवृत्ति यदि दण्डहीन रहन्छ भने बजार कहिल्यै स्वस्थ हुँदैन । पुँजीबजार भनेको विश्वासको बजार हो। जहाँ नियम सबैका लागि बराबर लागू हुँदैन, त्यहाँ पूँजी टिक्दैन; त्यहाँ केवल चलखेल टिक्छ।
अझ चिन्ताको कुरा के हो भने, हामीकहाँ अक्सर दोष गलत ठाउँमा लगाइन्छ। बजार घट्यो भने अर्थमन्त्रीलाई गाली। बजार बढेन भने सरकार असफल। तर प्रश्न यति सरल छैन। यदि सूचीकृत कम्पनीको हिसाब–किताब विश्वसनीय छैन, लेखापरीक्षणमाथि शंका छ, प्रक्षेपित नाफा र वास्तविक प्रदर्शनबीच गहिरो अन्तर छ, सञ्चालकहरू नै गैरजिम्मेवार छन्, र बजारमा अफवाह, पहुँच र प्रभावको खेल निर्णायक छ भने त्यस्तो बजारलाई बजेटको एउटा वाक्यले कसरी उठाउँछ? त्यसैले विज्ञ र आम लगानीकर्ता दुवैले अब भावनात्मक भाष्यभन्दा यथार्थवादी निष्कर्षमा पुग्नुपर्छ—शेयर बजारलाई सरकारको नाराले होइन, कम्पनीहरूको चरित्रले बचाउँछ ।
नेपालको पुँजीबजारलाई साँच्चै बचाउने हो भने तीनवटा कुरा अनिवार्य छन्। पहिलो, पूर्ण पारदर्शिता। सूचीकृत कम्पनीहरूले आफ्ना वित्तीय विवरण, जोखिम, ऋण, लगानी, सञ्चालकको संलग्नता र व्यवसायिक यथार्थ स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ। दोस्रो, नियामक कठोरता। भित्री कारोबार, कृत्रिम मूल्यवृद्धि, मिलेमतो, फर्जी सूचनाप्रसार र कागजी प्रक्षेपणका आधारमा लगानी तान्नेहरूमाथि कडा दण्ड हुनुपर्छ । तेस्रो, राजनीतिक इमानदारी। सरकारले बजार बढाउने खोक्रो वाचा गरेर भ्रम बेच्न छोड्नुपर्छ; बरु निष्पक्ष नियमन, कानुनी समानता र संस्थागत जवाफदेहिताको आधार तयार गर्नुपर्छ ।
जब उद्योगी स्वयं गैरजिम्मेवार हुन्छन्, जब कम्पनी सञ्चालकहरू बजारलाई लगानीको मञ्च नभई पैसा तान्ने जाल बनाउँछन्, जब नियम बनाउने र कार्यान्वयन गर्ने निकायहरू कमजोर देखिन्छन्, तब “अब बजार बढ्छ” भन्ने वाक्य लगानीकर्तालाई फकाउने औजार मात्र बन्छ। यही भ्रमका कारण हजारौं साना लगानीकर्ताले आफ्नो पसिनाको कमाइ जोखिममा राखेका छन्। यही कारण बजारमा आज उत्साहभन्दा संशय बढी छ। यही कारण कारोबारमा ऊर्जा छैन, किनकि भरोसा छैन ।
अब समय आएको छ—पुँजीबजारलाई भावनात्मक नारा, राजनीतिक प्रचार र कृत्रिम आशावादबाट मुक्त गर्ने। लगानीकर्तालाई भ्रम होइन, सत्य चाहिन्छ। बजारलाई उत्तेजना होइन, आधार चाहिन्छ। र देशलाई यस्तो पुँजीबजार चाहिन्छ, जहाँ पहुँचवालाको जाल होइन, नियमको शासन चलोस् । यदि नेपालले पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको विश्वसनीय औजार बनाउने हो भने, पहिलो सर्त स्पष्ट छ: शेयर मूल्य बढाउने राजनीति होइन, शेयर बजार सफा गर्ने साहस चाहिन्छ ।
कँडेल शेयर बजार लगानीकर्ता हुन

