काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.५७ अंकले उकालो लाग्दै २ हजार ७३६.१७ विन्दुमा पुगेर बन्द भएको हो।
आज ९२ लाख ८३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये १२८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ। १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
बजारमा सोपान फार्मास्युटिकल्स, एपोलो हाइड्रोपावर र कालिञ्चोक हाइड्रोपावर का लगानीकर्ताले सकारात्मक सर्किटको लाभ उठाएका छन्। यी तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो।
आजको कारोबारमा आँखुखोला जलविद्युत कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा देखिएको छ।
बजार परिसूचक सामान्य अंकले बढे पनि घट्ने कम्पनीको संख्या बढी देखिएकाले लगानीकर्ताबीच मिश्रित मनोविज्ञान कायम रहेको विश्लेषकहरूको भनाइ छ।

