‘सबैको साझा, निष्पक्ष पत्रकारिता’को नारासहित अगाडि बढिरहेको सीएनएन खबर डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ । शानिस मिडिया प्रालिद्वारा सञ्चालित यस सीएनएन खबरले यो अवधिमा थुप्रै चुनौतीहरू पार गर्दै अनुभव सँगालेको छ । हाम्रो अमूल्य सम्पत्तिको रूपमा हामीले यी चुनौती र अनुभवलाई ग्रहण गरिरहेका छौँ ।
विगतमा पत्रकारिता मुलुकको साझा ऐनाका रुपमा रहँदै आएको थियो । तर, अब यो ऐनाको दायराबाट परिष्कृत हुँदै समस्या सुल्झाउनका लागि पहलकदमी लिने माध्यम समेत बनिरहेको छ । अब कुनै पनि समस्या केवल समस्यामात्र रहनुहुँदैन, समाधानका उपाय पनि पत्रकारिताकै माध्यमबाट सरोकारवालाले पाउने अभ्यास अगाडि बढिरहेको छ ।
यसबीचमा हामीले समाचार संकलन, सम्पादन र प्रकाशनका दौरान कठिन परिस्थितिहरूको अनुभव संगालिसकेका छौँ । अस्थिर राजनीतिलाई अवसर ठान्दै दाउ छोप्ने केही समूहहरूको भण्डाफोर (पर्दाफास) पनि हामीले यही पत्रकारितामार्फत गरिरहेको तथ्य पाठकमाझ साझा गर्दछौँ ।
हिजो राजनीतिक अस्थिरता थियो, तर अहिले राजनीति स्थिरता तर्फ अगाडि बढिरहेको छ । पाँच वर्षे स्थिर सरकार, अझ एउटै दलको बहुमतको सरकार बनेको अवस्थामा बलियो प्रतिपक्षीको आवश्यकता झनै महत्वपूर्ण हुन्छ । अबको हाम्रो यात्रा परिस्कृत समाचारका साथै बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्नु पनि हुनेछ ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भड्किँदा मुलुकलाई नराम्ररी असर परेको छ । तंग्रिन लागेको अर्थतन्त्र झनै थिलथिलो बनेको अवस्थामा सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमार्फत स्पष्ट दिशा लिइसकेको छ । तर पनि अहिले अर्थतन्त्रमा सुस्तता कायमै छ ।
अर्थतन्त्रलाई अगाडि बढाउने प्रमुख हिस्सा निजी क्षेत्रको मनोबल माथि उठ्न नसकेको अवस्था व्याप्त छ । लघु, साना तथा मझौला उद्योगीहरू विस्थापित भइरहेको परिप्रेक्ष्यमा राज्य अर्थतन्त्रको विकासमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।
यी सबै समस्याहरूका बाबजुद पनि नयाँ उत्साह, नयाँ सोच र नयाँ लक्ष्यका साथ अगाडि बढ्नुपर्ने कार्यभार हामीमाझ थपिएको छ । अबको समय डिजिटल युगको हो ।
हामी डिजिटल माध्यमको पत्रकारितामा नयाँ नयाँ आविष्कारहरूलाई आत्मसाथ गर्दै अगाडि बढ्नेछौं । यसका लागि छुट्टै नीति र तौरतरिका तथा सीप अहिलेको टड्कारो आवश्यकता हो भन्ने ठानेका छौँ । हामी हाम्रा समाचार, प्रस्तुति तथा विचारलाई बदलिँदो परिवेश र प्रविधिमार्फत दूरदराजसम्म पु¥याउन जोड दिनेछौँ ।
सुशासन कायम गराउनका लागि सरकार, निजी क्षेत्र र नागरिक सबैको भूमिका अपरिहार्य हुन्छ । हामी खोजमूलक र जिम्मेवार पत्रकारितामार्फत सुशासनका पहरेदार बन्दै सबै पक्षहरूलाई झकझकाइरहनेछौँ ।
मुलुकको आर्थिक समृद्धिका लागि स्थानीय वस्तुको प्रवद्र्धन र प्रयोग पहिलो शर्त हुनुपर्नेमा हामी दृढ छौँ । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती र अबको दिशा लगायतलाई समेटेर हामीले ‘हरित ऊर्जा’ विशेषांक प्रकाशित गरेका थियौँ । विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनको असर र नेपालमा समेत त्यसको प्रभावलाई सो म्यागेजिनमा प्राथमिकताका साथ प्रकाशित गरेकोमा पाठक महानुभावहरूले अत्यन्तै रुचाइदिनुभएको हामीले महसुस ग¥यौँ ।
त्यो अनुभवलाई समेटेर हामीले तेस्रो वार्षिकोत्सवलाई पर्यटनमय बनाउने प्रयास गरेका छौँ । तेस्रो वार्षिकोत्सवको अवसरमा हामी ‘पर्यटन विशेषांक’ का साथ पाठमाझ आइपुगेका छौँ ।
भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक हो नेपाल । यहाँका पर्यटकीय गन्तव्यहरू डाँडाकाँडा, खोँच, वनजंगल, नदीनाला, ताल, हिमशिखर मुख्य हुन् । यसबाहेक पनि यहाँ नदेखिएका तर देखाइनुपर्ने अनगिन्ती पर्यटकीय सम्भावनाका गन्तव्यहरू छन् ।
यीनै प्राकृतिक स्रोतहरूबाट मनग्य आम्दानी गराई मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजाने मुख्य पाटो पर्यटन हो ।
यहाँका पर्यटकीय विविधता परम्परागतबाट विस्तारै रूपान्तरित हुँदै नयाँ नयाँ गन्तव्यका रूपमा विकास भएका छन् । सरकारले वि.सं. २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिसकेको छ । सरकारले यसका लागि विभिन्न लगानीमैत्री वातावरण निर्माण गर्ने नीतिहरू लिने तथा निजी क्षेत्रले पनि त्यसलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
सोही सन्दर्भसमेतलाई मर्मगत गर्दै हामीले यस अंकमा पर्यटन क्षेत्रमै लामो समयदेखि सक्रिय रहेका व्यक्तित्वहरूका अनुभव तथा सुझाव, पर्यटन व्यवसायीहरूले देखेका सम्भाव्यता र चुनौतीहरू तथा अन्य पर्यटकीय सम्भावनाहरूलाई समेटेका छौँ । अब पर्यटन केवल परम्परागत सोच र तौरतरिकामा मात्र निर्भर हुनुहुँदैन । यसका लागि प्रविधिको भरपूर प्रयोग गर्ने, डिजिटल पूर्वाधार विकास गर्ने तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेका ठाउँहरूको प्रचारप्रसार गर्नेतर्फ अबको यात्रा अगाडि बढ्नुपर्छ ।
एकातिर डलरको अधिमूल्यन हुने अर्कोतर्फ पर्यटकको खर्च घट्ने विरोधाभासपूर्ण अवस्था अहिले देखा पर्दै आइरहेको छ । यसलाई चिर्नका लागि पर्यटकको आवास कसरी लम्ब्याउन सकिन्छ ? उनीहरू के चाहन्छन् ? जस्ता विषयहरूमा समेत सरकार र निजी क्षेत्रले गहन अध्ययन गरेर अगाडि बढ्नुपर्ने खाँचो छ ।
यस अंकमा हामीले यीनै विषयहरूलाई समेट्दै पर्यटनलाई हेर्ने दृष्टिकोणमा नयाँपन दिलाउने यथेष्ट जमर्को गरेका छौँ । साथै, नीति–निर्मातालाई यसमा प्रकाशित सामाग्री सन्दर्भ सामाग्रीका रूपमा समेत हुने विश्वास लिएका छौँ ।
हामी आगामी दिनमा विकास, नीति, प्रविधि, सामाजिक र वातावरणीय विषयमा गहिरो विश्लेषणात्मक सामग्री प्रकाशन गर्नेछौँ ।
यस अंकका लागि हामीलाई विश्वास गरेर सूचना उपलब्ध गराउने स्रोत, लेखक, विज्ञप्रति कृतज्ञ छौँ । यो म्यागेजिनको प्रकाशनका लागि सहयोग गर्ने सम्पूर्ण विज्ञापनदाताप्रति आभारी छौँ । यो प्रकाशनमा अहोरात्र खटिने हाम्रा पत्रकार, सम्पादकीय टीमसहित सम्पूर्ण सहकर्मीप्रति हार्दिक सादुवाद ।
अध्यक्ष
शानिस मिडिया प्रा.लि.

