काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका–आरुटारकी पूर्णिमा श्रेष्ठ अहिले नेपाली पर्वतारोहण क्षेत्रमा एउटा साहस र प्रेरणाको पर्याय बनेकी छन् ।
धेरैका लागि सगरमाथाको चुचुरोमा एक पटक पुग्नु जीवनकै सबैभन्दा ठूलो उपलब्धि मानिन्छ । तर, पूर्णिमाका लागि भने यो एउटा निरन्तरको यात्रा बनिरहेको छ । गत जेठ ६ गते छैटौँ पटक सगरमाथाको सफल आरोहण गर्दै उनले आफ्नै कीर्तिमानलाई थप उचाइमा पु¥याएकी छन् ।
‘सतोरी एड्भेञ्चर’को टोलीसँगै सगरमाथाको चुचुरोमा पुगेकी पूर्णिमा केवल एक आरोही मात्र होइनन्, उनी संघर्ष, साहस र आत्मविश्वासकी प्रतिमूर्ति हुन् । गाउँ–गाउँ डुलेर पाँच–पाँच रुपैयाँ संकलन गर्दै हिमाल चढ्ने सपना बुन्ने ती युवती आज विश्वकीर्तिमानी पर्वतारोहीका रूपमा स्थापित भएकी छन् ।
पूर्णिमाको पर्वतारोहण यात्रा कुनै योजनाबद्ध सुरुवाती पाइला थिएन । पेशाले फोटो पत्रकार उनी सन् २०१७ मा ‘एभरेस्ट म्याराथन’को तस्बिर खिच्न सगरमाथा आधार शिविर (बेसक्याम्प) पुगेकी थिइन् । त्यहीँबाट उनको जीवनले नयाँ मोड लियो । ‘एभरेष्ट म्याराथन’को अवसरमा पहिलो पटक सगरमाथा आधार क्षेत्र पुगेकी उनले आखौँ नजिकबाट हिमाल नियालिन् । बेस क्यापमा फोटो खिच्ने उद्देश्यका साथ क्यामरा बोकेर पुगेकी उनको ध्यान हिमालले खिच्यो ।
‘सगरमाथाको देशको फोटो पत्रकार म । तर, म सँग अहिलेसम्म एउटा हिमालको पनि फोटो छैन् । हिमालेको समेत फोटो नहुने म के फोटो पत्रकार भन्ने महसुस भयो । त्यही बेला मैले सोचेँ, म आफैं सगरमाथामा पुगेर उत्कृष्ट तस्बिर किन नखिच्ने ?’ सीएनएन खबरसँग उनले भनिन् ।
त्यसपछि उनले सगरमाथाको चुचुरोसम्म पुग्ने सपना देख्न थालिन् । सगरमाथाको फोटो खिच्ने हुटहुटीले उनलाई आरोही बनायो । सन् २०१७ मा उनले सपना देखिन् र सन् २०१८ को सिजनमा आरोहण गर्छु भन्ने अठोट पनि लिइन् । उनले लिएको अठोट पूरा गर्न भने त्यति सजिलो थिएन ।
पूर्णिमाको यात्रा कुनै सम्पन्न परिवारको सहज यात्रा थिएन । उनीसँग महँगा उपकरण थिएनन्, ठूला प्रायोजक थिएनन्, न त पर्याप्त आर्थिक स्रोत नै । तर, थियो त केवल एउटा सपना हिमाल चढ्ने, आफूलाई प्रमाणित गर्ने र नेपाली महिलाले पनि विश्वको सबैभन्दा कठिन चुनौती पार गर्न सक्छन् भन्ने देखाउने ।
पाँच–पाँच रुपैयाँबाट सुरु भएको यात्रा
हिमाल चढ्ने रहर थियो, तर त्यसका लागि आवश्यक खर्च जुटाउने अवस्था थिएन । गाउँ–गाउँ पुगेर सहयोग माग्ने, पाँच–पाँच रुपैयाँ संकलन गर्ने र त्यसैबाट आफ्नो यात्राको आधार बनाउने काम उनले गरिन् । सायद त्यतिबेला कसैले कल्पना गरेका थिएनन् होला, पाँच रुपैयाँको सहयोगले एकदिन विश्व कीर्तिमान बनाउने महिला जन्माउनेछ भनेर ।
पूर्णिमाले भनिन्, ‘सुरूमा मलाई धेरैले विश्वास गरेनन् । तर, म आफैंले आफूलाई विश्वास गर्न छोडिनँ ।’ यही आत्मविश्वासले उनलाई आजको स्थानमा पु¥याएको हो ।
बेसक्यापबाट काठमाडौँ फर्किएपछि उनी सन् २०१८ मा सगरमाथा आरोहणमा जाने तयारीमा लागिन् । ‘अहिलेजस्तो मसँग त्यतिबेला कोही स्पोन्सर थिएन । न त मैले हिमालसँग सम्बन्धित कोही चिनेको थिएँ,’ विगत सम्झँदै पूर्णिमा भन्छिन्,‘मैले सबै काम शून्यबाट गर्नु थियो । मेरो सपना सन् २०१८ को सिजनमा सगरमाथा चढ्नु नै थियो । मेरो सपना पूरा गर्न म रकम संकलनमा लागेँ ।’
उनले आफूले बाल्यकालमा पढेको गोरखाको विद्यालय, आफ्नो गाउँघरमा गएर सगरमाथा आरोहणका लागि स्थानीयसँग ५÷५ रुपैयाँ सहयोग संकलन गरिन् ।
रकम संकलनसँगै उनले आवश्यक तयारी पनि थाले । ‘सुरुमै सगरमाथा आरोहण गर्न नपाइने रहेछ, सगरमाथा चढनुअघि ७ हजार मिटरसम्मको अर्काे हिमाल आरोहण गर्नुपर्ने थियो,’ उनले भनिन्,‘त्यसपछि आफ्नै जिल्लामा रहेको मनास्लुको आरोहण गरेर सगरमाथा जाने निर्णय गरेँ ।’
उनले सन् २०१७ को सेप्टेम्बरमा पहिलो पटक मनास्लुको आरोहण सम्पन्न गरिन् । मनास्लुको आरोहण गरेर सन् २०१८ मा सगरमाथा आरोहणका लागि तयारी थालेको उनी सम्झन्छिन् ।
उनले २०१८ मेमा सर्वोच्च शिखर सगरमाथा चढिन् । पहिलो पटकको सर्वोच्च शिखर पुग्दाको क्षण सम्झँदै पूर्णिमाले आफ्नो एउटा सपना पूरा भएको ठानिन् । उनले मनमनै आफैंलाई धन्यवाद दिइरहिन् यो साहस र आँटका लागि ।
त्यसपछि त पूर्णिमालाई हिउँसँग खेल्न बानी नै परेजस्तै भयो । फोटो खिच्न जाने सपनाले डो¥याउँदा डो¥याउँदै उनले अहिले आफ्नो पहिचान नै कीर्तिमानी पर्वतारोहीको बनाइसकेकी छन् ।
सगरमाथापछि उनले निरन्तर आफ्नो पाइला हिउँ चुचुराहरूमा पु¥याउँदै आइरहेकी छन् । सन् २०२१ अप्रिलमा अन्नपूर्ण प्रथम हुँदै २०२२ मेमा मकालु चढिन् । पहिलोपटक हिउँका बाटा पहिल्याएर उचाइ भेटेको ९ वर्षमा उनले आठ हजार मिटर अग्ला आठ हिमालको शिखर चुमि सकिन् ।
यस्तै, उनले सन् २०२४ एउटै सीजनमा, त्यो पनि १३ दिन तीन पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान तोड्दै पूर्णिमा श्रेष्ठले इतिहास रचिन् । उनले २०२४ को मे १२, मे १९ तथा मे २५ मा सगरमाथाको सफल आरोहण गरिन् ।
हिमालसँगको पहिलो प्रेम
सन् २०१७ मा सगरमाथा आधार शिविरमा पुग्दा फोटो पत्रकारितामा सक्रिय पूर्णिमाका लागि हिमाल केवल दृश्य थिएन, त्यो एउटा कथा थियो । प्रकृति, संघर्ष, मानव साहस र जीवनको कथा । त्यही कथाले उनलाई क्यामेराबाट चुचुरोसम्मको यात्रामा डो¥यायो ।
२०७८ वैशाखमा पूर्णिमाले अर्को इतिहास रचिन् । उनी अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुग्ने पहिलो नेपाली महिला बनिन् ।
अन्नपूर्ण हिमाल विश्वकै कठिन र जोखिमपूर्ण हिमालमध्ये पर्छ । मौसमको अस्थिरता, हिमपहिरोको जोखिम र प्राविधिक कठिनाइका कारण यो हिमाललाई ‘डेड्ली माउन्टेन’समेत भनिन्छ ।
यस्तो हिमालमा पुगेर पूर्णिमाले नेपाली महिलाको क्षमता विश्वसामु प्रमाणित गरिन् । उनले प्रमाणित् गरिन्,साहसको कुनै लिंग हुँदैन ।
महिला भएर पनि किन नसक्ने ?
नेपालमा अझै पनि साहसिक क्षेत्रमा महिलाको सहभागिता सीमित छ । पर्वतारोहण, उद्धार, ट्रेकिङ वा एड्भेन्चर क्षेत्रमा महिलाले पुरुषसरह अवसर पाउन निकै संघर्ष गर्नुपर्छ । पूर्णिमाले यही मानसिकतालाई चुनौती दिइन् । उनले बारम्बार प्रमाणित गरेकी छन् कि महिलाले पनि पुरुषले जत्तिकै जोखिम लिन सक्छन्, कठिनाइ पार गर्न सक्छन् र विश्व कीर्तिमान बनाउन सक्छन् । उनको यात्राले धेरै नेपाली महिलालाई प्रेरणा दिएको छ । गाउँका युवतीदेखि शहरका विद्यार्थीहरूसम्म पूर्णिमालाई रोल मोडलका रूपमा हेर्न थालेका छन् ।
पूर्णिमा आफैं पनि महिलाको सहभागिता बढाउनुपर्छ भन्नेमा जोड दिन्छिन् । उनी भन्छिन्, ‘महिलाले अवसर पाए जे पनि गर्न सक्छन् । समस्या क्षमतामा होइन, अवसरमा हो ।’
क्यामेरा र हिमालको सम्बन्ध
पूर्णिमा केवल आरोही मात्र होइनन्, उनी फोटो पत्रकार पनि हुन् । उनी सन् २०२५ र २०२६ मा सतोरी एड्भेञ्चरको फोटो पत्रकार (कर्मचारी) का रुपमा सगरमाथाको चुचुरोमा पुगिन् । त्यसअघि विभिन्न सहयोग लिएर सगरमाथा चढेकी उनी २ वर्षदेखि हाई अल्टीच्युट फोटो पत्रकारका रुपमा सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।
हिमालसँग उनको सम्बन्ध केवल शिखरसम्म पुगेर फर्किने होइन । उनी हिमालको कथा संसारलाई देखाउन चाहन्छिन् । उनले खिचेका हिमालका तस्बिरहरूले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ । हिमालमा संघर्ष गरिरहेका शेर्पा, बेस क्याम्पको जीवन, आरोहीहरूको भावना, प्रकृतिको सौन्दर्य,यी सबैलाई उनले आफ्नो क्यामेरामा कैद गरेकी छन् ।
सायद यही कारणले उनको आरोहण यात्रामा एउटा फरक संवेदना देखिन्छ । उनी हिमाल चढ्न मात्र होइन, हिमाललाई बुझ्न र बुझाउन पनि जान्छिन् ।
संघर्ष अझै सकिएको छैन
पूर्णिमाले ८ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल आरोहण गरिसकेकी छन् । सगरमाथा ६ पटक र मनास्लु दुई पटक आरोहण गरिसकेकी छन् । तर, उनी आफूलाई सफलताको अन्तिम बिन्दुमा पुगेको मान्दिनन् ।
उनको सपना अझै ठूलो छ । नेपाली महिलालाई साहसिक पर्यटनमा अघि बढाउन, पर्वतारोहणलाई सुरक्षित र सम्मानित पेशाका रूपमा स्थापित गर्न र नयाँ पुस्तालाई प्रेरित गर्न उनी निरन्तर सक्रिय छिन् ।
आज जब पूर्णिमा सगरमाथाको चुचुरोमा छैटौँ पटक पुगेकी छन्, त्यो केवल व्यक्तिगत उपलब्धि होइन । त्यो हजारौँ नेपाली महिलाको आत्मविश्वासको उचाइ हो ।
६ पटक सगरमाथाको चुचुरोमा पुगेकी श्रेष्ठको सपना अझै सकिएको छैन् । मिलेसम्म अर्काे सिजनमा समेत आरोहणमा जाने योजना रहेको उनले बताइन् ।
सपना १४ पिकको
५/५ रुपैयाँ संकलन गरेर हिमाल आरोहणको सुरुवात गरेकी उनको सपना ८ हजार माथिका १४ पिकको सफल आरोहण गर्नु हो । ९ वर्षको बीचमा ८ हजार माथिका ८ वटा पिक आरोहण गरेकी उनको सपना थप ६ वटा गरी १४ पिकको गर्नु हो ।
‘मेरो सपना भनेको ८ हजार माथिका १४ वटै हिमालको आरोहण गर्नु हो । तर यसका लागि केही समय लाग्न सक्छ । यसअघि सानो सानो सहयोग लिएर आरोहण गरे, अब फेरि सहयोग लिएर गर्ने सोच छैन्’, सीएनएनसँग उनले भनिन्, ‘कोही सहयोग गर्ने भेटियो भने जान सक्छु, नभए केही समय प्रतीक्षा गर्छु ।’
उनले सगरमाथा सहित दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी, मकालु र कन्चनजंगा गरि ८ हजार मिटर माथिका ८ वटा हिमालको सफल आरोहण गरिसकेकी छिन् भने सगरमाथा र अन्नपूर्ण प्रथमको आरोहण गरेर कीर्तिमानी नै कायम राखेकी छिन् ।
‘मैले २ वर्ष भयो फोटो पत्रकारका रुपमा आरोहण सुरु गरेको । योभन्दा अघि आफै डोनर खोजेर आरोहण गरेकी थिएँ भने सन् २०२५ देखिमात्रै सतोरी एड्भेन्चर मार्फत फोटो पत्रकारको रुपमा पुगेको हो,’ पूर्णिमाले भनिन् ।
यो आरोहण र अनुभव अन्त्यन्तै फरक रहेको उनले बताइन् । ८ हजारभन्दा माथिको हिमालमा जागिरका रुपमा फोटो खिच्न जानु नै उनको लागि फरक भूमिका थियो । उनी सम्झन्छिन्,‘यो काम निकै चुनौतीपूर्ण पनि हो’, उनले भनिन्, ‘कम्पनीले मलाई विश्वास गरेर आरोहणमा पठाउनु र मैले पनि सक्छु भनेर जोखिम मोलेरै आँट गरें ।’
उनले अरु वर्षको तुुलनामा यस वर्ष क्याप २ बाटै जाम भोग्नु परेको अनुभव सुनाइन् । अघिल्ला वर्षहरूमा क्याम्प ४ देखि समिट गर्ने बेलामा मात्रै केही जाम हुने गथ्र्यो । तर, यो वर्ष आरोही धेरै भएको र मौसम राम्रो नभएका कारण क्याप २ बाटै केही समय जाममा बस्नुप¥यो । ‘यसअघि ५ पटक आरोहण गर्दा समेत केही भएन, तर, अहिले सुरुवाती चरणबाटै जाम भयो । जाम हुन्छ भनेर तयारी गरेरै आरोहण गर्दा पनि केही असहज भने महसुस भयो’, उनले भनिन् ।
उनले यस वर्ष चुचुरोमा क्यामेरा समेत बोकेर लगेकी थिइन् । ‘शेर्पा दाइसँगै अन्य साथीहरूले समेत मलाई नलैजानु भन्नुभएको थियो । मैले केही खिच्न सक्छु भनेरै क्यामरा लगेँ तर, सोचेजस्तो भएन,’ उनले भनिन्, ‘पहिला भोगेका सबै समस्या समाधानका लागि म तयार थिए, तर समिट गरेपछि मैले लगाएको अक्सिजन मास्क नै बिग्रियो । मास्कले काम नगरेपछि शेर्पा दाइको मास्क मैले लगाउनुप¥यो । मलाई अक्सिजन दिएपछि उहाँले लगाउनु भएन, समिट सकेर छिटोछिटो दाइसँगै झर्नुपर्दा क्यामरा लगेर पनि फोटो खिच्न पाइनँ ।’
उनले लामो समयसम्म जाममा बस्दा अक्सिजन खपत कम गर्नका लागि रोक्दै लगाउँदै गर्दा पनि समिट सकेपछि बिग्रिएर फोटो खिच्न नपाउँदा दुख लागेको सुनाइन् । ‘क्यामरा ल्याएको भए मज्जासँगै खिच्न पाइन्छ भन्ने थियो, तर लगेर पनि मास्क बिग्रिँदा रित्तै फर्कनुपर्दा धेरै नमज्जा लाग्दो रहेछ’, उनले भनिन् ।
नेपालमा अझै पनि साहसिक पर्यटनमा महिलाको सहभागिता न्यून छ । यस्तो अवस्थामा पूर्णिमाको साहसले नेपाली महिलाहरूलाई एउटा सन्देश दिएको छ,‘महिलाले अवसर पाए जे पनि गर्न सक्छन् । समस्या क्षमतामा होइन, अवसर र आत्मविश्वासमा हो ।’ सगरमाथाको चुचुरोमा ६ पटक पुग्नु पूर्णिमाको व्यक्तिगत सफलता मात्र होइन, यो तमाम नेपाली महिलाहरूको आत्मविश्वासको नयाँ उचाइ हो ।

